प्रदेश १ का मुख्यमन्त्री कार्की अप्ठ्यारोमा, माओवादी सरकारमा सहभागी नहुने

 प्रदेश १ मा एमालेबाट हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । नवनिर्वाचित मुख्यमन्त्री कार्कीको आज दिउँसो २ बजे सपथ ग्रहण कार्यक्रम रहेको छ । तर, सरकार विस्तारको नहुँदै कार्की नेकपा (माओवादी) केन्द्रका कारण अप्ठ्यारोमा परेका छन् ।

माओवादी केन्द्रले भागबण्डामा असन्तुष्टी जनाउँदै तत्काल सरकारमा सहभागी नहुने बताएपछि नवनिर्वाचित मुख्यमन्त्री कार्की अप्ठ्यारोमा परेका हुन् । माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पार्टीको अपमान भएको बताएका छन् । केन्द्रको निर्णयले प्रदेश १ को संगठनको अपमान भएको र आलोपालो मुख्यमन्त्रीको लिखित सहमति नभएसम्म सरकारमा सहभागी नहुने उनले बताए ।

माओवादी तत्काल सरकारमा सहभागी नभएपनि सरकारलाई दिएको समर्थन भने यथावत रहने उनले बताएका छन् । प्रदेश १ मा माओवादीले सभामुख मात्रै पाएको छ । प्रदेश १ मा माओवादी केन्द्र सरकारमा जानुको विकल्प नरहेको एक केन्दीय सदस्य बताउँछन् । ‘केन्द्रको निर्देशन मान्नु पर्छ । केन्द्रले सरकारमा सहभागी हुनका लागि निर्देशन गरिसक्यो । उहाँहरु सरकारमा सहभागी हुनुको विकल्प छैन,’ उनले भने ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent