‘एमाले विरोधी हुँ’ भने अहिले मन्त्रीको योग्यता पुग्छ : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन् ।

एमालेको पक्षमा छैनौं भन्नेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरु बनाएको ओलीले आरोप लठलगाए । उनले सत्तारुढ दलहरु दशतिर फर्केकाले उनीहरुबाट देश बन्नै नसक्ने दावी गरे । आज (आइतबार) काठमाडौंमा आयोजित पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले देश बनाउनका लागि एउटा नीति, एउटा विचार, एउटा संगठनले नेतृत्व गर्नुपर्ने तर्क गरे ।

१० जनाले दशतिर तानेकाले देशको रथ कता जाने भन्ने प्रश्न वर्तमान सरकारमाथि रहेको ओलीको भनाई थियो। उनले एमालेले देशलाई बनाउनका लागि राष्ट्रिय शक्ति निर्माणको अभियानलाई अघि बढाएको दावी समेत गरे ।

उनले भने, ‘आज राष्ट्रिय शक्ति निर्माण गर्ने एमालेको उद्देश्य, देशको निम्ति काम गर्ने एमालेको उद्देश्य, त्यस्तो पार्टीलाई राष्ट्रिय शक्ति बन्न नदिएर नेपाललाई छिन्नभिन्नको स्थितिमा अहिलेको हेर्नुस्त मन्त्री ओ हो हो । के का मन्त्री हुन, कस्ता मन्त्री हुन ? कस्तो गठबन्धन हो ? यस्ता कुराहरुबाट हामी देश बनाउन सक्दैनौं। एउटा नीतिमा देश चल्नु पर्छ, एउटा विचारमा देश चल्नु पर्छ । एउटा संगठनले नेतृत्व गर्नुपर्छ । दशतिर फर्केका छन् । उसले उता डोरी तान्छ, अर्कोले उता डोरी तान्छ । त्यस्ताले कहाँ पुर्‍याउँछन देश ? देशको रथ कता जाने । दश जनताले दशतिर तानेको छ । १० वटा पार्टीले दशतिर तानेको छ । के भन्छ ? बुझेको, सुझेको केही छैन । भवितव्यमा दुई वटा सिट आयो । एमालेका विरुद्ध बोले । मन्त्री भए । जान्नु तान्नु केही पनि पर्दैन । एमालेको पक्षमा म छैन । एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेशन पुग्छ । यस्तो ठाउँमा हामीले देश बनाउने अभिभारा बोकेका छौ भने त्यो गम्भिरता हामीमा हुनु पर्‍यो ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent