लडाकु शिविर घोटालासहित चर्चित काण्डहरूको छानबिन गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले लडाकु शिविर घोटालालगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन गर्न माग गरेको छ । ती काण्डहरू छानबिन गर्दा पार्टीले पूर्ण सहयोग गर्ने समेत एमालेले निर्णय गरेको छ ।

‘नेपाली समाजमा भ्रष्टाचार र अनियमितता संक्रामक रोगका रूपमा रहँदै आएको छ । यस्ता घटनाहरूको निष्पक्ष छानबिन र दोषीहरूलाई कानुनको दायरामा नल्याउँदा यसले लोकतान्त्रिक प्रणाली, राजनीतिक नेतृत्व र पार्टीहरूमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना भएको छ । यो बैठक लडाकु शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ,’ १६ बुँदे निर्णयमा भनिएको छ ।

एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकक प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको निष्कर्ष निकालेको छ । ‘उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्षरूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछ । यस क्रममा हिरासतमा राखिएका व्यक्तिहरूलाई छानबिनको दायरामा आउनसक्ने व्यक्तिसँग अवैध रूपमा भेटघाट गराउने, पैसा दिएर मुद्दा मिलाउने प्रयाश गर्ने, असम्बद्ध व्यक्तिहरूको नाम लिन र आफू अनुकूलको बयान गराउन दबाब दिइएको जस्ता सूचना सार्वजनिक भएका छन्,’ निर्णयमा भनिएको छ ।

पाँच दलीय गठबन्धन सत्तामा रहँदा चालिएका विगतका राष्ट्रविरोधी नीति र कदमहरूको प्रभाव यतिबेला मुलुकको अर्थतन्त्रले झेल्नु परेको निष्कर्ष एमालेको छ । ‘एकातिर अत्यावश्यक क्षेत्रको बजेट कटौती गरिएको छ भने अर्कातिर बीचको छोटो अवधि हामीले अर्थ मन्त्रालय सम्हाल्दा आर्थिक मितव्ययिता अपनाउन लिइएका निर्णयहरू खारेज गरेर फजुल खर्चलाई निरन्तरता दिइएको छ । फलस्वरूप सामाजिक सुरक्षाको भुक्तानीमा समेत समस्या उत्पन्न भएको छ, सही रूपमा सञ्चालन गर्न हुने उद्योग–व्यवसाय पूरै प्रभावित भएका छन् ।

नयाँ लाइलेन्स, ठेक्कापट्टा र आयोजना जस्ता विषय सत्ता साझेदारहरूबीचको भागबण्डा र मिलेमतोमा निश्चित व्यापारिक समूहको हातमा सुम्पेर मुलुकलाई स्वार्थ समूहहरूको कब्जामा राख्ने कोशिसलाई तीब्रता दिइएको एमालेको आरोप छ । यसले व्यवसायीहरू अत्यन्त हतोत्साहित र निराश बन्न पुगेको र व्यवसाय बन्द हुने र उनीहरू पलायन हुने क्रम बढेको एमाले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent