आफ्नो अभिव्यक्ति सच्याउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता, ओली सदन खुलाउन लचक

काठमाडौं, २४ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति सच्याउने भएका छन् । गत असार १८ गते काठमाडौंमा सरदार प्रितम सिंहको पुस्तक विमोचनमा दिएको अभिव्यक्तिका कारण सदन अवरोध भएको छ । एमालेलगायतले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले नेपाल र नेपालीको भावनामाथि चोट पुगेको आरोप लगाएका छन् ।

एमालेले त प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान लिएको थियो । यही सन्दर्भमा आज सदनको अवरोध खुलाउन शीर्ष नेताहरुको बैठक बसेको थियो । सिंहदबारमा बसेको प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको बैठकमा सदनको अवरोध खुलाउने समझदारी बनेको छ ।

उक्त छलफलमा प्रधानमन्त्री दाहालले आफूले दिएको अभिव्यक्ति सच्याउने प्रतिबद्धता जनाएका थिए । पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउनको लागि सरदार प्रितम सिंहले पहल गरेको र धेरै चोटी भारत पनि गएको भन्ने अभिव्यक्ति दिएका थिए । तर, दाहालको सचिवालयले भने दाहालको उक्त अभिव्यक्ति व्यक्तिगत र भावनात्मक सम्बन्धको पहेलीको रुपमा आएको दाबी गर्दै एमालेले अनावश्यक बखेडा झिकेको आरोप लगाएको थियो ।

एमालेले आजको पनि सदन अवरोध गर्ने तयारी गरेपछि प्रधानमन्त्री दाहालले ओलीसँग छलफल गरेका थिए । शीर्ष नेताहरुबीचको सहमतिअनुसार अहिले १ बजेको लागि बोलाईएको प्रतिनिधिसभाको बैठक २ घण्टा पर सारिएको छ । सो बैठकमा प्रधानमन्त्री दाहालले जवाफ दिने बुझिएको छ । ओलीले पनि सिंहदबारको बैठकबाट बाहिरिने क्रममा सदन अवरोध हट्ने वा नहट्नेबारे भरे थाहा हुने भन्दै बैठकमै हेर्न प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार