चिकित्सकको आन्दोलनले देशभर उपचार सेवा ठप्प, सरकार भन्छ–वार्ताको पहल हुँदैछ

काठमाडौँ । देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलन थालेको नेपाल चिकित्सक सङ्घसँग सरकारले वार्ता प्रक्रिया अगाडि बढाएको छ ।

समस्याको समाधान छलफलबाट गर्ने प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वार्ताका लागि मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो । अहिले सरकारी वार्ता टोली र नेपाल चिकित्सकसङ्घका पदाधिकारीबीच छलफल भइरहेको छ ।

हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोध गर्दै सङ्घले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ । ओपीडी सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरु उपचार सेवाबाट वञ्चित भएका छन् । गएको २७ गते सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

सङ्घले घटनामा संलग्न दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनामा संलग्न चार जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिसकेको जनाएको छ । सङ्घले भने दोषी सबैलाई पक्राउ नगरेको आरोप लगाएको छ । दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्कीले बताए ।

d

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार