
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रसको सुरक्षा नेपाली सेनाको कमाण्डले गर्ने भएको छ । नेपाल भ्रमणका बेला सरकारले उच्च सुरक्षा प्रदान गर्नका लागि नेपाली सेनालाई कमाण्डको जिम्मेवारी दिएको स्रोतले जानकारी दिएको छ । त्यसका लागि सरकारले रक्षा र गृह मन्त्रालयलाई समन्वय गर्ने जिम्मेवारी दिएको हो ।

महासचिव गुटेर्रस नेपालको चार दिने भ्रमणका लागि कात्तिक १२ (अक्टोबर २९) मा नेपाल आउने तय भएको छ । महासचिव गुटेर्रस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन् ।
यसअघि महासचिव गुटेर्रसले अक्टुबर १३ देखि १५ सम्म नेपाल भ्रमण गर्ने कार्यतालिका तय भएको थियो । तर, अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि उक्त भ्रमण स्थगित गरिएको थियो । गुटेर्रसले कात्तिक १४ गते सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका पनि तय भएको छ ।

महासचिव गुटेर्रस सन् १९९५ देखि २००० सम्म पोर्चुगलका प्रधानमन्त्री थिए । संयुक्त राष्ट्रसङ्घको महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो । उनी पहिलो कार्यकालका लागि सन् २०१६ मा महासचिवमा नियुक्त भएका थिए । यसअघि सन् २००८ संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव वान की मुनले नेपाल भ्रमण गरेका थिए । सन् १९७० र ८० को दशकमा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिवहरू क्रमशः डा. कुर्त वाल्डहाइम र ह्याभियर पेरेज द कोयार नेपाल भ्रमण गरेका थिए ।



