कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना

विशेष अदालतले सिभिल सहकारी तत्कालीन अध्यक्ष इच्छाराज तामाङ दम्पतीसहित ६ जनाको सबै सम्पत्ति जफत गर्नुपर्ने फैसला गरेको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका सिभिल सहकारीका सञ्चालक तामाङलाई ३ वर्ष कैद सजाय निर्धारण गर्दै विशेषले उनी र उनको परिवारको नाममा रहेको सम्पत्ति पनि जफत हुने निर्णय गरेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार इच्छाराजलाई ३ वर्ष र पत्नी सृजना शाक्य तामाङलाई डेढ वर्ष कैद सजाय पनि निर्धारण गरेको छ।

विशेषले इच्छाराज तामाङ, श्रृजना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङकाे नाममा रहेकाे सबै सम्पत्ति जफत हुने फैसला पनि सुनाएको छ।

अब यी प्रतिवादीहरूविरुद्ध काठमाडाैँ जिल्ला अदालतमा विचारधीन ठगी मुद्दाको कसुर ठहर भएमा पीडितहरूकाे बिगाे भराउने कार्यले प्राथमिकता पाउने पनि विशेषले निर्णय दिएको छ।

इच्छाराजलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ काे दफा ३०(१) (क) बमाेजिम विगाे १ अर्ब ७२ करोड ४४ लाख५९ हजार ९७ रुपैयाँ ७५ पैसा बराबर जरिवाना र ३ वर्ष कैद निर्धारण भएको छ।

उनकी पत्नी श्रृजना शाक्य तामाङलाई पनि त्यही दफा बमाेजिम विगाे १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रूपैयाँ १० पैसा बराबर जरिवाना र १ वर्ष ६ महिना कैद हुने ठहर भएको छ।

उता प्रतिवादी केशवलाल श्रेष्ठकाे हकमा सोही कानुन बमाेजिम बिगाे २५ करोड,६५ लाख ८६ हजार १२४ रुपैयाँ ३७ बराबर जरिवाना र १ वर्ष ६ महिना कैद हुने ठहर विशेषले गरेको छ।

यसअघि गत माघ ७ गते इच्छारज र पत्नी सृजनासहितलाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको थियो। आइतबार सजाय निर्धारण गर्न बसेको इजलासले उक्त निर्णय गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।

नेकपा एमालेका पूर्वसांसदसमेत रहेका उनीविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी १६ भदौ ०७९ गते मुद्दा चलाइएको थियो।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार