मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन उनी आज (आइतबार) भारतको दिल्ली प्रस्थान गरेका हुन् ।

दिल्लीस्थित राष्ट्रपति भवनमा आइतबार साँझ भारतीय प्रधानमन्त्री मोदीले एक विशेष समारोहका बीच तेस्रो कार्यकालको लागि शपथ लिँदै छन् । सोही कार्यक्रममा भाग लिन प्रधानमन्त्री प्रचण्ड भारत गएका हुन् । भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्रका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना पनि दिल्ली गएका छन् । प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण समारोहमा सहभागी भई सोमबार साँझ ६ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार