कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण दलमा को-को छन् सहभागी

काठमाडौं । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेको हो ।

ओलीलाई बिदाईका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल लगायत विमानस्थल पुगेका थिए । त्यस अवसरमा सेनाको एक टुकडीले विशेष सम्मान प्रकट गरेको थियो ।

प्रधानमन्त्री नेतृत्वको १७ सदस्यीय टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, सहसचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजि चिकित्सक डा। दिव्या सिंह, स्वकीय सचिव राजेश बज्राचार्य, एडीसी दिवाकर खड्का छन् ।

त्यस्तै, परराष्ट्रका उपसचिव प्रथमा उप्रेती, प्रोटोकल अफिसर प्रविन भट्टराई, प्रधानमन्त्रीका सुरक्षा अधिकृत नवीन कार्की, मेजर प्रसान्तबहादुर थापा र नेपाल टेलिभिजनका फोटोग्राफर प्रकाश सिलवाल पनि टोलीमा सामेल छन् । यसअघि नै क्यानडा पुगेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा उतैबाट न्युयोर्क जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले असोज १० मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ । प्रधानमन्त्री ओली असोज ८ मा महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ मा अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ मा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ मा हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ ।

उनले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्द्धघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली असोज १४ मा स्वदेश फर्कनेछन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……