
अशोक राई नेपाली सङ्गीत क्षेत्रका स्थापित प्राज्ञ, सङ्गीतकार तथा एरेन्जर हुन् । उनले आधुनिक सङ्गीत र मौलिक लोक–धुनको संयोजनमार्फत नेपाली सङ्गीतलाई समृद्ध बनाउँदै आएका छन् । सङ्गीत सिर्जना, एरेन्जमेन्ट तथा वाद्य संयोजनमा उनको विशेष दख्खल रहेको छ । विभिन्न भाषिक र सांस्कृतिक पृष्ठभूमिका गीतहरूमा काम गर्दै उनले नेपाली सङ्गीतको बहुसांस्कृतिक चरित्रलाई उजागर गरेका छन् । लोकबाजा संरक्षण र प्रयोगमा उनी सधैँ सचेत देखिन्छन् । उनको एरेन्जमेन्ट शैली सन्तुलित, भावनात्मक र श्रोता–मैत्री मानिन्छ । सिर्जनासँगै सङ्गीत शिक्षण र मार्गदर्शनमा पनि उनको योगदान उल्लेखनीय छ । नेपाली सङ्गीतलाई केवल मनोरञ्जन मात्र नभई सांस्कृतिक पहिचानको माध्यमका रूपमा स्थापित गर्न उनी क्रियाशील छन् । नेकपा एमालेको राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष एवम् नेकपा एमालेको ११ औँ महाधिवेशनमा सांस्कृतिक कार्यक्रम संयोजकसमेत रहेका राईसँग गरिएको महाधिवेशन–केन्द्रित संवाद यहाँ प्रस्तुत छः—
_ तपाईं नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुनुहुँदा कस्तो अनुभूति भयो ?
विगतका तीनओटा आठौँ, नवौँ र दशौँ महाधिवेशनमा सांस्कृतिक समितिको सदस्य र सांस्कृतिक कार्यक्रम संयोजकको जिम्मेवारीमा मेरो सहभागिता रहेको थियो भने यसपटक ११औँ महाधिवेशनमा प्रतिनिधिसमेत हुने अवसर प्राप्त भयो । म राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालबाट महाधिवेशन प्रतिनिधि चयन भएको थिएँ । यसरी संस्कृतिककर्मी मात्रै नभई महाधिवेशन प्रतिनिधि बन्दा अलि गहन जिम्मेवारी थपिएको थियोे । महाधिवेशनमा पार्टी नेतृत्व चयन गर्न मतदान गर्ने अवसर मिल्यो । साथै अधिवेशनको पाँच–छ दिनको अनुभवले पार्टी संगठनबारे मेरो बुझाइमा अझ परिपक्व बनायो।
- कलाकार र प्राज्ञ मात्र होइन, पार्टीको नीति–निर्णय प्रक्रियामा सहभागी प्रतिनिधिका रूपमा बस्दा तपाईंले आफूलाई कसरी महसुस गर्नुभयो ?
- यस पटकको महाधिवेशनमा हामीले हाम्रो जनसांस्कृतिक महासंघको वर्तमान अध्यक्ष भूमिका सुब्बा, इन्चार्ज हेमराज राई र सांस्कृतिक नेता रघुजी पन्तलाई केन्द्रीय कमिटी र पदाधिकारीमा पुर्याउन सफल भयौ। यो हाम्रो ऐतिहासिक सफलता हो भन्ने लाग्छ । हामीलाई अब हाम्रा सांस्कृतिक नीति निर्माण तथा कार्यक्रमहरू नेतृत्व तहमा पुर्याउन र कार्यान्वयन गर्न सहज हुनेछ भन्ने लागेको छ ।

- प्रतिनिधिको हैसियतले महाधिवेशनको बन्दसत्र, छलफल र बहसहरूलाई नजिकबाट अवलोकन गर्दा के–कस्ता अनुभूतिहरू भए ?
- यसपटक पार्टीका सबै बहस तथा छलफलहरू भदौमा सम्पन्न विधान अधिवेशनमा नै भएकाले महाधिवेशनमा चाहिँ नयाँ नेतृत्व चयन गर्ने काम मात्रै भयो । त्यसकारण त्यस्तो घनिभूत बहस, छलफल भएन । सांस्कृतिक कार्यक्रम संयोजकको जिम्मेवारीसँगै प्रतिनिधिको भूमिकाले तपाईंको सोच र उत्तरदायित्वमा के फरक ल्यायो ? हामी संस्कृतिकर्मीमा भावनात्मक कुराले धेरै प्रभाव पर्छ तर राजनीतिमा भावनाको कुरा गौण हन्छ । त्यहाँ आफू र आफ्नो स्थान स्थापित गर्न कसैले कुनै कसर बाँकी नराखी मेहनत गर्नुपर्ने रहेछ । यसपटक मैले यही कुरा बुझेँ ।
- महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, वैचारिक बहस र नेतृत्व चयन प्रक्रियालाई तपाईंले कसरी मूल्याङ्कन गर्नुभयो ?
- वैचारिक बहस बिधान महाधिवेशन सकिए पनि अहिलेको समकालीन परिस्थितिमा राष्ट्रिय, अन्तर्राष्ट्रिय दबावको सामना गर्न र राष्ट्र निर्माणका लागि एकपटक पुनः केपी शर्मा ओलीको नेतृत्वमा पार्टी जानुपर्छ भन्ने मत धेरै भयो । यसका लागि नयाँ नेतृत्व पूर्ण लोकतान्त्रिक पद्धतिमा चयन भयो । प्रतिनिधिका रूपमा तपाईंले जनसांस्कृतिक आन्दोलन र कलाकारहरूको आवाज कसरी उठाउनुभयो ? मेरो व्यक्तिगत सोच भनेको हाम्रो प्रगतिशील सङ्गीतलाई अहिलेको मागअनुसारको नयाँ संयोजन गरेर प्रस्तुत गर्नुपर्छ भन्ने हो । सोहीअनुसार मेरो तर्फबाट मैले गर्न सक्ने गरिनै रहेको छु । यसका लागि अवाज उठाउनुभन्दा पनि हामीले अझै मिहिनेत गर्नुपर्दछ ।
- पार्टीभित्र सांस्कृतिक क्षेत्र र सिर्जनशील समुदायप्रति नेतृत्वको दृष्टिकोण तपाईंलाई कस्तो लाग्यो ?
- नेकपा एमाले साँच्चिकै भाषा, साहित्य, कला तथा संस्कृतिलाई सम्मान गर्ने मात्रै होइन यसलाई संरक्षण,सम्बर्द्धन र प्रबद्र्धन गर्ने पार्टी हो । हाम्रो पार्टीका अध्यक्ष यस कुरामा विशिष्ट हुनुहुन्छ । यसका लागि पार्टीबाट उल्लेखनीय कामहरू भइरहेका छन् । पार्टीको कला, साहित्य तथा संस्कति विभाग र राष्ट्रिय जनसांस्कृतिक महासंघले जिम्मेवारीका साथ कामहरू गरिरहेको छ । पार्टीले हामी जस्ता सर्जकलाई ठुलो मञ्च दिएको छ । त्यसैले पार्टीको सांस्कृतिक क्षेत्रपट्टिको दृष्टिकोणलाई सकरात्मक मान्नुपर्छ
- ११औँ महाधिवेशनले नेकपा एमालेको भावी दिशा र राष्ट्र निर्माणको यात्रामा कस्तो सन्देश दिएको ठान्नुहुन्छ ?
- नेतृत्वले जबजको मार्गदर्शक सिद्धान्तलाई वास्तविकतामा जनताका सामु उतार्ने छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने जुन वाणी छ त्यसलाई व्यवहारमा समेत अनुभूति गराउन सफल हुनेछ भन्नेमा म विश्वस्त छु ।
- अन्त्यमा, प्रतिनिधिको अनुभवले तपाईंको राजनीतिक–सांस्कृतिक यात्रालाई कसरी थप परिपक्व बनाएको ठान्नुहुन्छ ?

- ११ औँ महाधिवेशनमा पार्टीले मलाई विश्वास गरेर, मेरो कर्मको मूल्याङ्कन गरेर सांस्कृतिक कार्यक्रमको संयोजकको जिम्मेवारी दियो । करिब तीन लाख दर्शकका बिचमा पुराना गीत–संगीतलाई आधुनिक शैलीमा प्रस्तुत गरियो । सबैले रुचाउनुभयो । पार्टीले उच्च मूल्याङ्कन गर्यो । हामीले समयको मागअनुसार हाम्रा सिर्जनाहरूलाई परिमार्जन गर्नुपर्दछ भन्ने बोध भयो । यसका लागि म पार्टी नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु । सांस्कृतिक समितिका संयोजक रघुजी पन्त, समतिका सचिव एवम् महासंघका अध्यक्ष भूमिका सुब्बा, सदस्यहरू राजेश थापा,अमृत खाती, मनकुमार श्रेष्ठलगायत सम्पूर्ण वाद्यवादक साथीहरू, गायक–गायिका, नृत्यकलाकार समितिका सदस्य साथीहरू सबैको साथ र सहयोगले कार्यक्रम सफल भयो । म सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । यसपटक नयाँ प्रस्तुति दिनुपर्छ र त्यसमा प्रगतिशील गीतहरूमा कन्सर्ट गर्नुपर्छ भनेर सल्लाह दिनुहुने पार्टीका पूर्व उपमहासचिव विष्णु रिमाल र जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ कमरेडहरूप्रति म विशेष आभारी छु ।



