
काठमाडौँ : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबारका लागि बैठक आह्वान गरेका हुन् ।
सभापति शेरबहादुर देउवानिकट एक नेताले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको जानकारी दिएका छन् । खड्कानिकट स्रोतले पनि बैठक आह्वान गरिएको पुष्टि गरेको छ। स्रोतका अनुसार धुम्बाराहीस्थित एक होटलमा मंगलबार र बुधबार दुई दिनसम्म बैठक बस्नेछ।
१४ औं महाधिवेशनबाट निर्वाचित एक केन्द्रीय सदस्यले पनि बैठकका लागि खबर आएको बताएका छन्।
केन्द्रीय कार्यसमिति बैठकपछि प्रदेश सभापति र जिल्ला सभापतिहरूको भेला बोलाउने तयारीसमेत गरिएको छ। खड्कानिकट स्रोतका अनुसार उक्त भेलाबारे आन्तरिक तयारी भइरहेको छ ।
यसअघि खड्काले १४ चैतमा विशेष महाधिवेशनलाई स्वीकार नगरेका पार्टीका शीर्ष नेताहरूसँग ठमेलमा छलफल गरेका थिए। त्यसपछि उनले पहिलो पटक कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने बताएका थिए।
खड्काले आगामी परिस्थितिको सामना गर्न नेता–कार्यकर्तालाई तयार रहनसमेत अपिल गरेका थिए।
कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेपछि कांग्रेसभित्र खड्काको क्रियाशील सदस्यता नवीकरण नगर्ने विषयमा समेत छलफल भएको बताइएको छ।



