कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

पेट्रोलियम पदार्थ चोरी गर्दै गरेको अवस्थामा दुई ट्याङ्करसहित एक पक्राउ

भारतबाट नेपाल ल्याइँदै गरेको पेट्रोलियम पदार्थ बीचमै चोरी गर्दै गरेको अवस्थामा प्रहरीले दुई वटा ट्याङ्करसहित एक सहचालकलाई नियन्त्रणमा लिएको छ। नेपाल आयल निगमको भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आउँदै गरेका दुई ट्याङ्करले भैरहवास्थित सराफ आयल सेन्टरमा तेल निकालिरहेको अवस्थामा प्रहरीले आज बिहान १० बजे नियन्त्रणमा लिएको हो।

ट्याङ्करहरू बिहान ९ बजे उक्त आयल सेन्टरमा पुगेका थिए। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले लु.२ ख १५४४ र लु.१ ख ६५०४ नम्बरका ट्याङ्कर नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार दुवै ट्याङ्करको सिल तोडिएको र तेल निकालिएको अवस्थामा भेटिएका थिए।

स्रोतका अनुसार भारतबाट भलवारी डिपोका लागि आउने पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर व्यवसायी र आयल सेन्टर सञ्चालकको मिलेमतोमा पछिल्लो ६ महिनादेखि तेल चोरी हुँदै आएको आरोप छ। उनीहरूले एउटा ट्याङ्करबाट दैनिक ५ हजार लिटरसम्म तेल चोरी गरी बिक्री गर्ने गरेको आरोपसमेत लाग्दै आएको स्रोतले जनाएको छ।

तेल चोरीका लागि अनिवार्य रूपमा तोडिने सिल भलवारी डिपोले जाँच नगर्ने तथा आयातित पेट्रोलियम पदार्थको नापजाँचसमेत प्रभावकारी रूपमा नगर्ने गरिएको भन्दै यसमा आयल निगमका अधिकारीहरूको समेत संलग्नता हुन सक्ने आशंका गरिएको छ। यसअघि पनि भलवारी डिपोका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करबाट तेल चोरी हुने घटना सार्वजनिक हुँदै आएका थिए।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार