कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ताप्लेजुङमा किशोरी पुष्पा लिम्बुको शंकास्पद शव, हत्याको आशंका

ताप्लेजुङको फुङलिङ नगरपालिका–७ मा किशोरीको शव भेटिएको घटनाको अनुसन्धानमा प्रहरीले चासो नदिएको आफन्तले गुनासो गरेका छन् ।

बिहीबार बिहान फक्तालुङ गाउँपालिका–३ घर भई फुङलिङ बस्दै आएकी १७ वर्षीया पुष्पा लिम्बु मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव जंगल छेउमा शंकास्पद अवस्थामा भेटिएको थियो ।

शवमा चोट पटक देखिएपनि प्रहरीले सामान्य रुपमा लिएको आफन्त अमृत लिङ्देनले बताए । उनका अनुसार दिदीसँग फुङलिङ बजारमा बसेर पढ्दै आएकी पुष्पा बिहीबार राति १२ बजेसम्म डेरा बसेको घरमै थिइन् ।

राति १२ बजेपछि हराएकी उनको शव भोलिपल्ट विहान करिब ८ बजे डेराबाट करिब २ किलोमिटर टाढा जंगल छेउमा शंकास्पद अवस्थामा शव भेटिएको थियो ।

लिङ्देनका अनुसार मृतकले प्रयोग गर्ने मोबाइल पनि हराएको छ । ‘राति १२ बजेसम्म डेरामा भएको मान्छेको शव जंगलछेउमा कसरी पुग्यो ?’ उनले भने, ‘हाम्रो आशङ्का हत्या हो । तर प्रहरीले सामान्य रुपमा लिएको छ ।’ शव अर्धनग्न अवस्थामा रहेको र शरीरमा पनि चोट भएका कारण हत्या भएको हुनसक्ने उनले बताए ।

स्थानीय भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने किशोरीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले गम्भीर रुपमा अनुसन्धान नगरेको भन्दै आफन्तले शव बुझेका छैनन् । शंकास्पद व्यक्तिलाई पक्राउ गरेपछि मात्रै शव बुझ्ने उनले आफन्तले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी बालनरसिंह राणा प्रहरीले घटनाको शुक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताउँछन् । पोष्टमार्टम हुन बाँकी रहेको बताउँदै उनले पोष्टमार्टमपछि थप विषय खुल्ने जानकारी दिए ।

उनका अनुसार शव भेटिएको स्थानदेखि केही माथि किशोरीले लगाएको ज्याकेट भेटिएको छ । ज्याकेट नजिकै मेटासिडको बट्टा पनि भेटिएको उनले बताए । घटनालाई सबै कोणबाट अनुसन्धान गरिरहेको बताउँदै उनले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थप विषय खुल्ने बताए । अनलाइन खबर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार