
चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने भएपछि प्रहरीले चीनविरोधी गतिविधिमा संलग्नमाथि निगरानी बढाएको छ।
यसअघि चीन विरोधी गतिविधिमा संलग्न नेपालीसँगै फ्री तिब्बतको अभियानमा संलग्नहरु प्रहरीको निगरानीमा रहेको प्रहरी उच्च स्रोतले जानकारी दियो।
यसअघि चिनियाँ गतिविधिको आरोपमा पक्राउ परेका विकास ठाकुरले यस पटक पनि प्रहरीले आफूमाथि केही दिनदेखि निगरानी बढाएको बताएका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा पनि उनलाई प्रहरीले तीन दिनसम्म हिरासतमा राखेको थियो। चिनियाँ राष्ट्रपति स्वदेश फर्किएसँगै उनलाई प्रहरीले छाडेको थियो।
यस्तै गतिविधिमा संलग्नहरु प्रहरीको निगरानीमा छन्। उनीहरुलाई निगरानी गर्न प्रहरीले सिभिल प्रहरीको संख्या बढाएको छ।
यसअघि चीनका शीर्ष नेताहरुको नेपाल भ्रमणका क्रममा विरोधमा उत्रिने र दूतावास अगाडि प्रदर्शन गर्नेहरुलाई पनि निगरानी गरिरहेको प्रहरी स्रोतले जनाएको छ।
‘अहिले चीन विरोधी गतिविधि गर्न सक्ने सम्भावित मान्छेहरु हाम्रो निगरानीमा हुनुहुन्छ। केही गतिविधि गरे उहाँहरुलाई पक्राउ गरिन्छ’, स्रोतले नेपालखबरसँग भन्यो।
यसअघि राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा पनि कालो झण्डा देखाउनेहरू पक्राउ परेका थिए।
यसपटक पनि त्यस्तै घटना हुन सक्ने भन्दै प्रहरीले निगरानी बढाएको हो। तिब्बती शरणार्थीहरु पनि केही दिनदेखि नै निगरानीमा छन्।
शुक्रबार अपरान्ह चीनका स्टेट काउन्सिलर समेत रहेका विदेशमन्त्री वाङ काठमाडौं आइपुग्ने छन्।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेतासँग भेटघाट गर्ने कार्यक्रम छ।
यस्तै केही सम्झौता र सहयताहरुमा पनि हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपालमा एमसीसी अनुमोदन रोक्न चर्को लविङ गरेको चीनका उच्च नेताको भ्रमणलाई अर्थपूर्ण र महत्वपूर्ण मानिएको छ।



