परासीः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निर्वाचन क्षेत्र नवलपरासीको गैंडाकोट नगरपालिकामा एमालेका उम्मेदवार छत्रराज पौडेल मेयरमा विजयी हुनु भयो। उहाँ वर्षौदेखिको कांग्रेसको वर्चस्वको रुपमा रहेको गैंंडाकोट नगरपालिकामा एमालेका तर्फबाट मेयरमा विजयी हुनु भएको हो।
नगरपालिकाबाट मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र आलेलाई पराजित गर्दै पौडेल मेयरमा विजयी भएसँगै सो क्षेत्रमा कांग्रेसको वर्चस्व तोडिएको छ। उपमेयरमा भने कांग्रेसकी उम्मेदवार विष्णु कुमारी कँडेल विजयी हुनु भएको छ। मेयरका विजयी उम्मेदवार पौडेलले २ सय २४ मत अन्तरले आलेलाई पराजित गर्नु भएको हो। पौडेलको ११ हजार ३ सय २ मत छ भने आलेको ११ हजार ७८ मत छ। उपमेयरमा विजयी कँडेलले एमालेकी राधा पौडेललाई १ हजार ९९ मतले पराजित गर्नु भएको हो। कँडेलको ११ हजार ५ सय ५५ मत छ भने पौडेलको १० हजार ४ सय ५६ मत छ।
डा. कोइराला दुई पटकसम्म संविधानसभा निर्वाचनमा नवलपरासीको क्षेत्र नम्बर १ बाट विजयी हुनु भएको हो। कांग्रेसको पडक क्षेत्र भएपछि एमालेले राप्रपा र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेको थियो। तालमेल गरेपनि कांग्रेस कार्यकर्ताहरु भने ठूलो मत अन्तरले आफूहरु विजयी हुनेमा विश्वस्त थिए। एमाले पनि आफूले चुनाव जित्नेमा विश्वस्त थिएन। उपमेयर १ हजार ५ सय बढी मतले विजयी भएपनि मेयर गुमाउनुमा नेताहरुले अन्तरघात गरेको कार्यकर्ताहरुको आरोप छ। गैंडाकोटमा कांग्रेसले पराजय भोगेपछि जिल्लाको कांग्रेस राजनीतिमा तरंग उत्पन्न गराएको छ।
कांग्रेसका केही पुराना नेताहरु मेयर पदका आकांक्षी थिए। तिमध्ये साझा उम्मेदवार भन्दै आलेलाई कांग्रेसले टिकट दिएको थियो। प्रमुख दाबेदार र लामो समयदेखि राजनीतिमा लागेका नेताद्वय मदनभक्त अधिकारीलाई टिकट दिँदा अर्का नेता ओम सापकोटा रुष्ट हुने र अधिकारीलाई दिँदा सापकोटा रुष्ट हुने कांग्रेस नेतृत्वको बुझाइ थियो। यसले कार्यकर्ताबीच मनमुटाव बढ्न सक्ने भन्दै जनजातिमाझ लोकप्रिय रहेका आलेलाई टिकट दिइएको थियो। तर, परिणामले भने उल्टो आएपछि जिल्ला र केन्द्रका नेताहरुलाई चुनौती थपिएको छ।
क्षेत्र तथा नगरको अर्कमण्यता र भागबण्डाको आधारमा टिकट सिफारिस गरेका कारण पराजय भोग्नु परेको केही कांग्रेस कार्यकर्ताहरुले बताएका छन्। कांग्रेसका स्थानीय कार्यकर्ता एवं पूर्व जिल्ला सदस्य करुणासागर सुवेदीले हारको विषयलाई लिएर टिकाटिप्पणी गुर्नुभन्दा अन्तरघातको समिक्षा गर्नुपर्ने बताउनुभयो। १८ वडा रहेको गैंडाकोटमा कांग्रेसले ९ र एमालेले ८ वडाअध्यक्ष जितेका छन्। एक वडामा राष्ट्रिय जनमोर्चाले वडाअध्यक्ष जितेको छ।-अन्नपुर्ण पोष्टबाट साभार