एजेन्सी : उत्तर कोरियालाको मिसाइल परीक्षणको कडा विरोध गरिरहेको अमेरिकाले आफैं एक परमाणु मिसाइलको परीक्षण गरेको छ । अमेरिकाले इन्टर सेप्टर मिसाइल सिस्टम नाम दिइएको एक अन्तर महादेशीय व्यालेष्टिक मिसाइलको परीक्षण गरेको हो । अमेरिकाले उत्तर कोरियाको आक्रमणबाट आफ्नो रक्षा गर्नका लागि मिसाइल परीक्षण गरेको दावी गरेको छ ।
अमेरिकाले दिएको अनेकौं चेतावनीलाई वेवास्ता गर्दै उत्तर कोरियाले लगातार शक्तिशाली मिसाइल परीक्षण गरिरहेको छ । उत्तर कोरियाको उक्त गतिविधिप्रति अमेरिका आक्रमक रुपमा प्रस्तुत भइरहेको छ ।
अमेरिकी रक्षा विभागका अधिकारीले दिएको जानकारी अनुसार अमेरिकी मिसाइल डिफेन्स एजेन्सीले यो मिसाइल क्यालिफोर्नियाको भेडनवर्ग एयर वेसबाट प्रक्षेपण गरी प्रशान्त महासागरमा खसालिएको थियो ।
अमेरिकी डिफेन्स एजेन्सीले यस मिसाइलले धेरै छिटो लक्ष भेद गर्न सफल भएको जानकारी दिएको छ । अमेरिकी डिफेन्स एजेन्सीका डाइरेक्टर ‘भाइस एडमिरल जीम स्रीङ’ले इन्टरसेप्टरले व्यालेष्टिक मिसाइललाई सहजै सही लक्षमा गिराएको बताउनुभयो । उहाँले अमेरिकी सुरक्षाका लागि यो अत्यावश्यक रहेको दावी गर्नुभयो । इन्टर सेप्टर सिस्टमको सफल प्रयोगले जुनसुकै खतराबाट देशको रक्षा गर्न अमेरिका सक्षम रहेका पुष्टि भएको स्रीङले बताउनुभयो ।
अमेरिकाले सन २००४ मा तयार पारेको यो सिस्टमको हालसम्म ९ पटक परीक्षण गरिसकेको छ । जसमध्ये चार पटक मात्रै परीक्षण सफल भएको छ । अमेरिकाको यो इन्टर सेप्टर मिसाइल पहिलेदेखिनै विवादित हुँदै आएको छ । थुप्रै देशले यसको विरोध गर्दै आएका छन्।
उत्तर कोरियाले परमाणु हमला गर्ने खतरा बढेका कारण अमेरिका यो सिस्टमलाई चुस्त बनाउँन लागिपरिरहेको बिशेषज्ञहरुले बताएका छन्।