दोलखा, २१ जेठ । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकास्थित जुँगुमा भएको कुलबहादुर तामाङको हत्या प्रकरणमा माओवादी केन्द्रकी नेतृ एवम् पूर्वराज्यमन्त्री देवी खड्कासहित ४० जना नेता तथा कार्यकर्ताविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ
जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत चरिकोटमा मुद्दा दर्ता गरेको हो । ज्यान मुद्दामा देवी खड्कासहित माओवादी पोलिटव्यूरो सदस्य गंगा कार्की, जिल्ला अध्यक्ष बिशाल खड्का लगायतलाई प्रतिवादी बनाइएको छ ।
पीडित परिवारको जाहेरीका आधारमा प्रतिवादी बनाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ । हत्या गरिएको तामाङ एमालेका कार्यकर्ता हुन् ।
गौरीशंकर गाउँपालिका वडा नमबर १ का एमाले उम्मेदवार गोरे तामाङका छोरा कुलवहादुरको वैँशाख २७ गते जुँगुको रेशमडाँडामा हत्या भएको थियो ।
एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडपपछि सो हत्याकाण्ड भएको थियो । हत्यापछि कुलवहादुरका परिवारले ४१ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । ती मध्ये ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माओवादी नेताहरु देवी खड्का, विशाल खड्का र गंगा कार्की लगायत फरार रहेको प्रहरीले जनाएको छ ।
एमालेका सांसद पशुपति चौलागाई, आनन्द पोखरेल र पार्वत गुरुङले दोलखाको जफे, झुले, मेलुङ, गैरीमुदी, क्षेत्रपा लगायतका बुथमा चुनावका दिन कांग्रेसले भौतिक हमला गरेर उम्मेदवार कुटपिट गरेको र मतदाताले मतदान गर्न नपाएको भन्दै छानविनको माग गर्दै आएका थिए ।दैनिक नेपाल