मोरङको कानेपोखरी गाउँपालिका– ७, कानेपोखरीको चारकोसे जंगलमा एक महिलाको वीभत्स तरिकाले गरिएको हत्या सम्पत्ति हडप्न तथा लामो समयदेखि चल्दै आएको अनैतिक सम्बन्ध लुकाउन गरिएको रहस्य प्रहरीले खुलसा गरेको छ ।
सुनसरीको धरान – १५ घर भै लामो समयदेखि भारतको दार्जीलिङ, सिलगुडी चम्पासरी ग्रामपञ्चायत अन्तर्गतको सालबारीमा बस्दै आएकी २९ वर्षीय लीला शर्मा दाहालको शरीर ०७३ असोज १० मा कानेपोखरीको जंगलको बीचमा मृत अवस्थामा फेला परेको थियो ।
घटना भएकै दिनदेखि हत्यारा पत्ता लगाउन सक्रिय मोरङ प्रहरीले विशेष प्रहरी टोली परिचालन गरी भारत दार्जीलिङ सिलगुडी चम्पासरी ग्रामपञ्चायत सालवारी मेथिवारी काजिमान प्रधानरोड बस्ने ४२ वर्षीय राजकुमार प्रधानलाई मोरङको पथरी शनिश्चिरे – १, पथरीबजारबाट पक्राउ गरेको हो ।
मृतक शर्मा दाहाल तथा प्रधान जग्गा कारोबारी रहेको प्रहरीले जनाएको छ । अवैध ढंगले कमाएको सम्पत्ति हडप्ने दाउ एवं अनैतिक सम्बन्ध लुकाउन प्रधानले दाहालको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्दीप भण्डारीले बताए । लीला शर्मा दाहालका श्रीमान् कमल दाहाल तथा अभियुक्त राजकुमार प्रधानबीच जग्गा कारोबारमा मिलेमतो थियो । ‘कमल दाहालको मृत्युपछि राजकुमार र लीलाबीच सम्बन्ध प्रगाढ हुँदै गयो र साझेदारी व्यापारले पनि निरन्तरता पायो,’ एसपी भण्डारीले भने, ‘परिवारमा लीलासँगको सम्बन्धका बारेमा जानकारी भएपछि राजकुमारले सम्पत्ती हडप्ने र लामो समयदेखि चल्दै आएको अनैतिक सम्बन्ध लुकाउन बीच जंगलमा ल्याएर उनको हत्या गर्ने योजना बनाएको देखिन्छ ।’
प्रहरीले अभियुक्त राजकुमारलाई लीलाको हत्या भएको साढे ७ महिनापछि वैशाख ३१ गते मोरङको पथरी शनिश्चरे–१ स्थित बजारबाट पक्राउ गरेको हो । प्रधानले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरी प्रमुख भण्डारीले बताएका छन् ।
प्रधानका विरुद्ध २०७३ पुस २६ गते नै मृतक लीला शर्मा दाहालका देवर विमल शर्माले इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए । पक्राउ परेका प्रधानलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भैरहेको छ ।
यसरी भयो हत्या ?
मृतक लीला शर्मा दाहालका श्रीमान् कमल दाहाल तथा अभियुक्त राजकुमार प्रधानले नेपाल र भारत दुवै ठाउँमा जग्गाको कारोबारमा गर्दै आएका थिएँ । लीलाका श्रीमान् कमल दाहालको सवारी दुर्घटनामा परी मृत्यु भएपछि राजकुमार र लीलाबीच सम्बन्ध प्रगाढ बन्दै गयो र उनीहरूको व्यापार पनि फस्टाउन थाल्यो ।
त्यसबीच राजकुमार आफ्नी श्रीमतीलाई लिएर ससुराली मोरङको उर्लाबारी आए । उनले श्रीमतीलाई ससुरालीमा राखेर लीलालाई फोन गरी इटहरीमा रमाइलो गर्नुपर्छ भन्दै नेपाल बोलाए । लीलाले पनि मख्ख पर्दै राजकुमारलाई भेट्न आउने वचन दिइन् । लीला नेपाल आउने भएपछि राजकुमार उनलाई लिन काँकडभिट्टा पुगे । काँकडभिट्टामा भेट भएपछि लीलालाई मोटरसाइकल पछाडि राखेर उनी इटहरीतर्फ हान्निए, तर २० किलोमिटरको दूरीमा रहेको इटहरी नपुग्दै राजकुमारले कानेपोखरीको बीच जंगलमा पिसाब आयो भन्दै चारकोसे जंगलमा मोटसाइकल रोके । पिसाब फेर्न दुवै जना जंगलभित्र पसे । पिसाब फेर्ने क्रममै राजकुमारले लीलामाथि पछाडिबाट ढुङ्गा प्रहार गरे जुन उनको टाउकोमा लाग्यो । लीला त्यहीं लडिन् । उठेर भाग्न खोज्दा राजकुमारले तान्दै उनलाई पुन: जंगलतर्फ लगे र टाउकोमा तीन पटक ढुङ्गा प्रहार गरी लीलाको अनुहार कसैले नचिन्ने गरी हत्या गरे । हत्यापछि राजकुमार भारततर्फ फरार भए ।
यसरी पक्राउ परे
वीभत्स तरिकाले हत्या भएको लीलाको शवको सनाखत गर्न प्रहरीलाई केही दिन लाग्यो । घटना भएकै दिनदेखि मोरङ प्रहरीले विशेष प्रहरी टोली परिचालन गरिसकेको थियो । प्रहरीले राजकुमारले लीलासँग अन्तिम फोन सम्पर्क गरेको कल डिटेल फेला पार्यो । त्यही दिनदेखि प्रहरीले उनीमाथि विशेष निगरानी गर्दै आएको थियो । हत्या भएको सात महिनापछि प्रधान दार्जीलिङ हुँदै नेपाल आउन लागेको विशेष सूचना मोरङ प्रहरीमा आयो । प्रहरीले ३१ वैशाखमा ध्द्यठद्धब्भ्ण्घद्धछ नम्बरको कारमा सवार प्रधानलाई मोरङ पथरी, शनिश्चरे–१ बाट पक्राउ गरिएको एसपी भण्डारी बताउँछन् ।
प्रहरीको विशेष अभियान
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय, मोरङमा जघन्य अपराधको घटना बढे पनि अपराधीहरू पक्राउ पनि परिरहेका छन् । मोरङका प्रहरी प्रमुख एसपी भण्डारीले दिएको जानकारीअनुसार अपराधका घटनाको अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको छ । टोलीले ६० सालमा मोरङ भोगटेनीका हस्तबहादुर लामिछाने मगरको हत्या गर्ने सोही ठाउँका ४० वर्षीय सन्तबहादुर तामाङलाई समेत पक्राउ गरेको छ । उनलाई यही वैशाख ३० गते पक्राउ गरिएको हो ।
यस्तै ६९ सालमा, मोरङ, सुन्दरपुर–४ का २४ वर्षीय राजकुमार राईको हत्या गरेको अभियोग लागेका सोही ठाउँका २२ वर्षीय यादव श्रेष्ठ, २६ वर्षीय दिपेन मोक्तान तथा २८ वर्षीय गणेश भनिने सरुल गुरुङलाई पनि पक्राउ गरेको छ । उनीहरूलाई २०७३ साल चैत १० गते पक्राउ गरिएको थियो ।
यस्तै मोरङ बेलबारी–५ का ज्ञानबहादुर राईको हत्याको अभियोग लागेका पेमा राई तथा बेलबारी–११ मा महेन्द्र लिम्बूको हत्या गरेको अभियोग लागेका सोही ठाउँका राजकुमार चेम्जोङलाई वैशाख १४ गते पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
http://bit.ly/2s6y58f
http://bit.ly/2s6y58f