काठमाडौं, २७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतो असार १४ गतेको चुनाव नभएपनि कुनै असर नपर्ने बताएका छन् ।
शनिबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महतले संविधान संशोधन नहुँदासम्म निर्वाचनमा भाग नलिने बताए ।
‘संविधान संशोधन हुनुपर्छ । होइन भने मधेसमा चुनाव हुँदैन’, उनले भने, ‘असार १४ गते चुनाव नहुँदैमा केही हुँदैन ।’ महतोले मधेसमा जबरजस्ती चुनाव गरियो भने त्यसलाई बिथोल्ने चेतावनी दिए ।
नेता महतोले कडा चेतावनी दिँदै भने, ‘अहंकारको कुरा गरेर निर्वाचनको कुरा भयो भने मुलुक द्वन्द्वमा जान्छ । वीस वर्षसम्म हुन नसकेको निर्वाचन किन गर्नु प¥यो भनेको ?’
‘०७४ माघ ७ गतेभित्र चुनाव जहिले गरे पनि हुन्छ’, महतोले भने, ‘असार १४ गते चुनाव भएन भने आकाशै खस्दैन ।’
मधेस केन्द्रत दल विशेष गरेर राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउने भनेर संविधान संशोधनको अन्तिम तयारी भइरहेको छ ।
निर्वाचनसम्बन्धी केही कानून समेत संसदबाट संशोधन भइरहेका बेला राजपा नेपालका नेता महताले चुनावका विरुद्ध अभिव्यक्ति दिएर विवादमा तानिएका छन् ।
-Dainik Nepal