उपेन्द्र यादवले राजपाका नेताहरूको ‘पोल’ खोलिदिए…

काठमाडौं, ३० जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूले उट्पट्याङ गरेर शान्तिपूर्ण चुनावी सभाहरूमा आक्रमण गर्न उकासेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले भने, ‘राजपाका नेताहरूले उट्पट्याङ गरेर चुनावी कार्यक्रम विथोल्न खोजका छन् । तर, सर्लाहीमा उनीहरूलाई जनताले कुटेर लखेटे ।’

दुई नम्बर प्रदेशका जनता निर्वाचनका पक्षमा रहेको बताएका उनले भने, ‘राजपाका केही कार्यकर्ता जसलाई उचालिएको छ । उनीहरूले मात्रै निर्वाचनको विरोध गरेका छन् । अरु सबै निर्वाचनको पक्षमा छन् ।’

अध्यक्ष यादवले भने, ‘राजपा नेपालका स्थानीय नेता र कार्यकर्ताहरू हामीसँग, कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतका दलसँग टिकट मागिरहेका छन् । शीर्ष नेताहरूले उग्र नारा दिएर केही हुँदैन । जनतालाई झुक्काउने काम गर्नु हुँदैन ।’

राजपाका नेताहरूलाई प्रश्न गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष यादवले भने, ‘मधेसको जनविद्रोह हुँदा राजपाका नेताहरू राजा ज्ञानेन्द्रको सरकारमा थिए । आन्दोलन दमन गरिरहेका थिए । उनीहरूले ४३ जनाको शहादत हुँदा पनि दमन गरिरहेका थिए । अहिले आएर मधेसका नाममा चर्का कुरा गर्ने ?’

मधेसी जनताको पक्षमा कुरा गर्नेले समय र परिवेश अनुसारको निर्णय गर्न सक्नु पर्ने उनले बताए । ‘अहिले नै संविधान संशोधनका लागि संख्या पुग्दैन’, उनले भने, ‘संख्या पुगाउनेतिर लाग्नुपर्छ । त्योभन्दा अगाडि प्राप्त उपलब्धिलाई रक्षा गर्दै जानु पर्छ । थप अधिकारका लागि संघर्ष गर्नुपर्छ ।’

स्थानीय तहको निर्वाचनमा तराईका जिल्लाहरूमा चुनावी सभा गर्दै आएका अध्यक्ष यादवलाई लक्षित गरेर राजपा नेपालका कार्यकर्ताहरूले कार्यक्रम विथोल्ने प्रयास गर्दै आएका छन् । तर, यादवले त्यसको जोडदार रुपमा मुकाबिला गर्दै आएका छन् ।दैनिक नेपाल

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार