दोस्रो चरणको चुनाव सार्ने कुरा नगर्न प्रमुख निर्वाचन आयुक्तको चेतावनी…

काठमाडौं, ३१ जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी दिएका छन् । यादवले भने, ‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अब पनि निर्वाचन हुँदैन भनेर यसको विपक्षमा बोल्ने काम नगरौं, असार १४ गते तोकिएकै मितिमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन्छ, ढुक्क हुनुहोस् ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनको विपक्षमा कसैले पनि कुरा गर्न नहुने बताएका हुन् । यादवले भने, ‘मुलुक निर्वाचनमा गैसकेको छ, २ गते मनोनयन हुन्छ, १४ गते निर्वाचन हुन्छ, आयोग अब निर्वाचनबाट एक ईन्चपनि ब्याक हुँदैन्, चारवटै प्रदेशमा एकै चरणमा निर्वाचन हुन्छ, यसको सम्पूर्ण तयारी आयोगले गरिसकेको छ ।’ यादवले चुनावको मुखमा आएर निर्वाचनको विपक्षमा कुनै कुरा नगर्न चेतावनी दिएका छन् । उनले भने, ‘आयोग चुनावमा होमिसकेको छ ।’

सबै जिल्लामा निर्वाचन सामाग्री पुर्याई सकिएको र निर्वाचनको तयारी पूरा भैसकेको जानकारी गराउँदै यादवले भने– ‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, हामीले संबेदनशिलताको आधारमा अनुगमन टोलि खटाएका छौं, असार १४ गतेको निर्वाचन मिति सार्ने भन्ने कुरा हल्लामात्रै हो, २ र ५ नम्बर प्रदेश को निर्वाचन सर्ने हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन, यी सबै अनुमानका कुराहरु मात्रै हुन् ।’

‘स्थानीय तहको संख्या थपे असार १४ गतेको निर्वाचन हुँदैन्’

यादवले अब स्थानीय तहको संख्या थप भएमा पनि निर्वाचन गर्न नसकिने दाबी गरे । उनले भने, ‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अब पनि स्थानीय तहको संख्या थप्ने भन्ने कुरा कहाँबाट सम्भव छ, यो असंम्भव कुरा हो, अब मत खसाल्न मात्र बाँकी छ ।’ उनले ४६१ स्थानमा एकै चरणमा निर्वाचन हुने र अब पनि संख्या थपे आयोगले निर्वाचन गर्न नसक्ने जिकिर गरे । उनले आयोगका सबै कर्मचारी मुख्य निर्वाचन अधिकृतदेखि अन्य कर्मचारीहरु ४६१ निर्वाचन क्षेत्रमा पुगिसकेको समेत जनाए ।

मत हाल्ने अधिकार कुण्ठित नगर्न मधेसी दललाई आग्रह

निर्वाचन बहिष्कार गर्ने दलहरुलाई जनताको मत हाल्ने अधिकार कुण्ठित नगर्न समेत उनले आग्रह गरे । यादवले भने,‘सबै राजनीति दलहरुले निर्वाचनमा भाग लिनुपर्छ, आफ्नो मत हाल्ने मतदाताहरुको अधिकारलाई कुण्ठित गर्ने काम कसैलेपनि गर्नुुहुँदैन् ।’

‘अब चुनाव चिन्ह दिन सकिदैन्’

उनले अब चुनाव चिन्ह पनि दिन नसकिने स्पष्ट पारे । उनले भने, ‘चुनाव अघि अब मिति सार्ने काम र चुनाव चिन्ह दिन सकिँदैन् ।’ जनता मतदान गर्न आँतुर रहेकोले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै अब दोस्रो चरणको निर्वाचनपनि प्रभावकारी रुपमा सम्पन्न हुने स्पष्ट पारे । आम मतदाताहरुबाट आफूहरुलाई पूर्ण सहयोग भैरहेको समेत उनले जानकारी दिए ।

उनले राजपा नेपाल लगायत केही दलहरुले निर्वाचनबारे असहमति राखेकोबारे टिप्प्णी गर्दै भने, ‘उहाँहरुको माँग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको छ, स्थानीय तहको कानून संशोधन, राजनीतिक दलसम्बन्ध ऐनमा पनि संशोधन गरिसकेको थियो, तीन दिनको समय पनि सूचना जारी गरेका थियौं, अधिकतम लचकता अपनाएका थियौं, हामी त अहिले पनि आग्रह गरिरहेका छौं, कि निर्वाचनमा आउनुहोस् भनेर ।’दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार