काठमाडौं, १ असार । राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याउन भन्दै कांग्रेस–माओवादी गठबन्धन सरकारले प्रदेश नम्बर २ को चुनाव सारेको विरोधमा तराईका विभिन्न स्थानमा मसाल जुलुस निकालिएको छ ।
सर्लाहीको लालबन्दी, हरिवन आसपास बजारमा विभिन्न विद्यार्थी संगठनले चुनाव सारिएको विरोधमा राँके जुलुस निकालेका हुन् ।
मधेस र मधेसी जनतालाई सरकारले धोका दिएको भन्दै युवा तथा विद्यार्थीहरुले देउवा सरकारको राजीनामा समेत मागेका छन् । उनीहरुले प्रधानमन्त्री देउवाको पुत्ला पनि जलाएका छन् ।
त्यसक्रममा मुलुक विखण्डनकारी सरकार भन्दै आन्दोलनकारीले नारा जुलुस गरेका थिए । राँके जुलुसको नेतृत्व अनेरास्ववियुले गरेको अखिलका सचिव आरसी लामिछानेले बताए ।
चुनावको सम्पूर्ण तयारी पूरा भएपछि एकाएक चुनाव सरिएको भन्दै तराईबासी सबै नेपालीले सरकारको यतिबेला विरोध गरिरहेका छन् भने राजपामाथि धेरैले आक्रोश पोखिरहेका छन् । मधेस भित्रैबाट विभिन्न दलका मधेसी नेताहरुले सरकारको यो कदम गलत भन्दै आलोचना गरेका छन् ।दैनिक नेपाल