काठमाडौँ, ३ असार । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेताहरुले शनिबार राजधानी छाड्नुअघि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा पुगेर राजपाका नेताहरुले सुटुक्क भेटवार्ता गरेका हुन् । आन्दोलनको कार्यक्रमहरु यथावत राख्ने र निर्वाचनमा भाग नलिने निर्णय गरेको भोलिपल्टै राजपा नेताहरु देउवालाई भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । भेटवार्तालाई निकै गोप्य राखिएको छ ।
चुनावी रणनीतिको बारेमा छलफल भए पनि राजपा नेताहरुले भने संचारमाध्यमसामु घुमाएर कुरा गरे । संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि गर्न आग्रहका लागि आफूहरु देउवा निवास पुगेको भेटमा सहभागी एक नेताले दैनिक नेपाललाई टेलिफोनमा जानकारी गराए । उनका अनुसार, प्रधानमन्त्री देउवाले चुनावपछि मात्रै संविधान संशोधन गर्ने बचन दोहोर्याएका थिए । देउवाले प्रदेश नम्बर दुईको निर्वाचन सम्पन्न हुनु अघि नै संविधान संशोधन प्रस्ताव पारित गराउने आश्वासन दिएका थिए ।
बैठकमा राजपा नेपालका तर्फबाट महन्थ ठाकुर, राजकिशोर यादव, महेन्द्र राय यादव र अलिन झाको उपस्थिति रहेको थियो । राजपाले चुनावमा भाग नलिने बताए पनि भित्रि रुपमा भने निर्वाचनको दिनमा कुनैपनि अवरोध नगर्ने बताइएको छ । फेस सेभिङ्गको लागि मात्रै आन्दोलनको निर्णय गरिएको स्रोतको दाबी छ । चुनावमा भाग लिने या नलिने भन्नेमा राजपाभित्र चर्को विवाद छ । यद्यपि चुनाव भाँड्न भन्दै राजपाका नेताहरु पश्चिम नेपालका तराईका जिल्लाहरुमा निस्केका छन् ।-दैनिक नेपालबाट