भारतलाई चीनको चेतावनी…

सोमबार, ०३ साउन २०७४,

बेइजिङ- भुटान र चीनको सीमामा रहेको दोक्लम क्षेत्रबाट भारतीय फौज हटाउन चीनले चेतावनी दिएको छ। चीनको सरकारी समाचार संस्थाले आफ्नो भूभागमा गैरकानुनी रुपमा भारतीय सेना बसिरहेको भन्दै उनीहरुलाई त्यहाँबाट नहटाइए भारतले लाज मर्दो अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको छ।

सिन्ह्वा समाचार एजेन्सीले प्रकाशन गरेको एउटा टिप्पणीमा चीन, भारत र भुटानको सीमा क्षेत्र नजिकै पर्ने दोक्लमबाट भारतीय फौज फिर्ता नहुन्जेल सम्म कुनै किसिमको वार्ता हुन नसक्ने उल्लेख गरिएको छ।

भारतले उक्त भूभागमाथि भुटानले दाबी गरिरहेको भन्दै चिनियाँ पक्षलाई त्यस क्षेत्रमा नयाँ सडक निर्माण गर्न नदिन आफूले भारतीय सैनिक पठाएको बताउँदै आएको छ।

उक्त सडकका कारण आफ्नो सुरक्षामा गम्भीर चुनौती थपिने नयाँ दिल्लीको चिन्ता रहेको बताइएको छ।

सिन्ह्वामा प्रकाशित उक्त लेखमा चीनले दोक्लम क्षेत्रबाट आफ्ना फौज फिर्ता लान पटक पटक गरेको आग्रह भारतले अस्वीकार गरिरहेको उल्लेख गरिएको छ।

चीन र भारतबीच दोक्लम क्षेत्रलाई लिएर विगत एक महिनादेखि चलिरहेको उक्त विवाद समाधान गर्न भारतले वेवास्ता गरिरहे उसले थप लाजमर्दो अवस्थाको सामाना गर्नुपर्ने चेतावनी उक्त लेखमा दिइएको छ। लेखमा पहिलो पटक सिक्किमसँग सीमा जोडिएको आफ्नो भूमीमा भारतीय फौज प्रवेश गरेको भन्दै अहिलेको अवस्थालाई पाकिस्तान, भारत र चीन तीनै देशको दाबी रहेको दक्षिणपूर्वी कस्मिरमा सन् २०१३ र सन् २०१४ मा भएका भिडन्त जसरी साधारण रुपमा नलिन भनिएको छ।

यस बिषयमा भारतसँग कुनै वार्ता नगर्ने भन्दै दोक्लम आएका भारतीय फौज फिर्ता गर्नुपर्ने अडान चीनले राख्दै आएको छ। ‘चीनपनि समस्याको समाधान कूटनीतिक माध्यमबाट शान्तिपूर्ण तरिकाबाट होस् भन्ने चाहन्छ र सीमा क्षेत्रमा शान्ति र स्थायीत्व भएको देख्न चाहन्छ तर यसको लागि एउटा मात्रै शर्त आवश्यक रहेको छ र त्यो हो भारतीय फौज सीमा क्षेत्रबाट हट्ने,’ सिन्ह्वामा प्रकाशित लेखमा भनिएको छ।

सिक्किम क्षेत्रमा भारत र चीनबीचको सीमामा रेखाकंन गरिएको ठाउँबाट भारतीय फौज सीमा पार गरेको यो पहिलो घटना भएको चिनियाँ विदेश मन्त्रालयतका प्रवक्ता जेङ सुहाङको भनाइ उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ। उनले यो दुई एसियाली राष्ट्रबीचको तोकिएको सिमाकंन भएको पनि बताए।

‘सिक्किम क्षेत्रमा रहेको चीन र भारत सीमाना सन् १८९० मा तत्कालीन बेलायत सरकार र चीनसँग सम्बन्धित तत्कालिन सिक्किम र तिब्बतसँग भएको सम्झौतामा परिभाषित गरिएको र दुबै चिनियाँ र भारतीय सरकारले पटक पटक उक्त सम्झौतामा सहमति जनाएका छन्,’ जेङले बताए।

सिन्ह्वामा प्रकाशित विशेष लेखमा भारतीय सुरक्षाफौज दोक्लममा रहेको चिनियाँ सीमा क्षेत्रमा जुन महिनामा जबर्जस्ती पसेर निर्माणधीन सडकमा अवरोध गरेको आरोप लगाइएको छ।

यसैबीच भारतीय अखबार ‘द इन्डियन एक्सप्रेस’का अनुसार भारतको केन्› सरकारले दोक्लम विवादबारे त्यहाँका विपक्षी दलहरुसँग छलफल गरेको छ।

विपक्षी नेताहरुले सरकारलाई बेइजिङसँगको तनाव कम गर्न र कूटनीतिक तहबाट समस्या समाधान गर्न सुझाव दिएको बताइएको छ।

उक्त बैठकमा गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुस्मा स्वराज, अर्थमन्त्री अरुण जेट्लीसहितका उच्च भारतीय अधिकारी सहभागी भएको बताइएको छ।

भारत र चीनबीच ४ हजार किलोमिटर भन्दा लामो जमिन जोडिएको सीमा क्षेत्र रहेको छ।

सीमा विवादका कारण उनीहरुबीच सन् १९६२ मा युद्ध समेत भएको थियो। त्यसपछिका वर्षमा भने यी दुई मुलुकबीच छिटफुट घटना बोहकप्रत्यक्ष रुपमा युद्ध भएका छैनन्।

मुख्य समाचार