बर्माको अल्पसंख्यक रोहिंग्या समुदायको सुरक्षा माग गर्दै आइतबार नेपालगन्जका मुस्लिमले प्रदर्शन गरेका छन् । रोहिंग्याहरूमाथि भइरहेको ज्यादति रोक्न सरकारले बर्मालाई दबाब दिनुपर्ने भन्दै मुस्लिम अगुवाले प्रजिअलाई ज्ञापनपत्र बुझाए ।
पूर्वमन्त्री इस्तियाक राईले नेपाल सरकारले त्यहाँ भइरहेको मानवअधिकार उल्लंघनका घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गरे । इस्लामी संघ नेपाल बाँकेका अध्यक्ष अबेदुर रहमानले बर्मामा मुस्लिममाथि भएको अत्याचार रोक्न सबै मिलेर दबाब दिनुपर्ने बताए । मुस्लिम समुदाय नेपालगन्जको बीपीचोकबाट विरोध र्याली निकालेर जिल्ला प्रशासन कार्यालय पुगेको थियो । मदरसा फैजुन्नबी इदगाह सञ्चालक समिति अध्यक्ष रहिस अहमद सिद्दिकीले प्रजिअलाई ज्ञापनपत्र दिएका थिए ।