कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

८४ वर्षीय वृद्धको पाकेट मार्ने यसरी परे प्रहरी फन्दामा

काठमाडौं– भक्तपुरबाट उपचारका लागि एक बृद्ध काठमाडौं आउँदै थिए । सार्वजनिक बस चढेका ती बृद्धलाई जडिबुटी आईपुगेपछि दुई जना युवाले घेरा हाले, अनि उनको साथमा भएको ३० हजार नगद पाकेट मारेर ओर्लिए ।
घटना एक साता अघिको हो, संयोगले त्यो गाडीमा सादा पोशाकका केही प्रहरी पनि चढिसकेका थिए । ८४ वर्षीय वृद्धको पैसा पाकेट मारेर आर्लिएका प्रमेश तामाङ र काले तामाङलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा ल्याए ।
प्रहरीले प्रमेश र काले बिरुद्ध चोरिको किटानी जाहेरी दिन प्रहरीले गरेको आग्रह ती वृद्धले स्विकार गरेनन् । ‘आफू उपचार गर्न हिँडेको हुनाले अरु झमेलामा नलाग्ने भन्दै बुढा मान्छेले पैसा फिर्ता माग्नुभो’ महानगरीय प्रहरी प्रभाग कोटेश्वरका ईन्सपेक्टर राजु लामा भन्छन्, ‘त्यसपछि हामीले उहाँको पैसा फिर्ता दिएर काले र प्रमेश विरुद्ध सार्वजनिक अपराधको मुद्धा चलाउन महानगरीय प्रहरी वृत बानेश्वरमा प्रतिवेदन सहित बुझायौं ।’
महानगरीय प्रहरी वृत बानेश्वरले एक महिनायता शुरु गरेको चोरी र पाकेटमारी बिरुद्धको अप्रेशनको क्रममा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । पिडीत सम्पर्कमा नआएपछि तिमध्ये केही चोर र पाकेटमारहरुलाई प्रहरीले सार्वजनिक अपराधको मुद्धा दायर गरेको छ ।
‘सादा पोशाकमा प्रहरी परिचालन गरेर पाकोटमारा र चोरहरु बिरुद्धको अपरेशन शुरु गरेपछि हाम्रो एरियामा चोरी न्यून भएको छ’ महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले भने, ‘चोरलाई नियन्त्रणमा लिएपनि उनीहरुको डेरा खानतलासी गरेर सामान बरामद गर्ने र सम्बन्धीत धनीलाई सम्पर्कमा ल्याएर जाहेरी दिन आग्रह गर्दै त्यस्ता अपराधिलाई कानुनी दायरामा ल्याएका छौं ।’
घर फोर्ने ‘धराने ग्याङ’
कोटेश्वर क्षेत्रमा घर फोर्ने कार्यमा संलग्न ‘धराने’ भनिने दिपेश राईको समुहलाई कोटेश्वर प्रहरीले नियन्त्रणमा लिएको छ । करिब २० दिनअनि धराने ग्याङका प्रशान्त सेन्चुरी, अनिश मोक्तान र खेम मगर सहित अन्य दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘कोटेश्वर स्थित झोलुंगे पुलबाट यो समुहले एकै दिनमा चारओटा घर चोरी गरेको थियो’ इन्सपेक्टर राजु लामा भन्छन्, ‘धरानेको समुह पक्राउ परेपछी यो क्षेत्रमा घर चोरी हुने क्रम घटेको छ ।’
घर चोरी गरेपछि त्यहि घरका मानिसको कपडा लगाएर निस्कने धराने ग्याङको नयाँ शैली रहेको प्रहरी स्रोतको भनाई छ ।
धराने ग्याङ बाहेक कोटेश्वर क्षेत्रमा चोरी र पाकेट मार्ने कार्यमा संलग्न बिजय तामाङ, कुमार तामाङ, सरोज सुनार, दावा शेर्पा, मधु, सुरज नेपाली रविन शर्मा, सविना तामाङ, बिकी चौधरी, रविन शर्मा, कुमार विक र सुरज केसीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
चक्कु सहित पक्राउ परेका सुरज नेपाली र रविन शर्मा पटके पाकटेमार हुन् । यसअघी पनी उनिहरु पटक–पटक पाकेटरमारा प्रकरणमा पक्राउ पर्दै आएका थिए ।
पछिल्लो समय पाकेटमाराहरु छुरी समेत लिएर हिँड्न थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत साता कोटेश्वर स्थित असर्फि गल्लिबाट पक्राउ परेका सरोज सुनारको साथबाट प्रहरीले छुरी बरामद गरेको थियो ।
त्यस्तै अर्का पाकेटमार हुन् दावा शेर्पा । पटके पाकटेमारको रुपमा चिनिएका दावा पछिल्लो समय मोटरसाईकल र स्कुटर चोरीमा समेत लागेको बानेश्वर प्रहरीले जनाएको छ । केहि दिनअघी उनलाई प्रहरीले कोटेश्वरबाट स्कुटर चोर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
कोटेश्वर क्षेत्रमा जुनियर अफिसरको कमाण्डमा चोरी नियन्त्रण गर्ने अभियान सञ्चालन गरेपछि सार्वजनिक यातायात र मान्छेको भीडभाड हुने ठाउँमा हुने चोरीमा कमी आएको बताइएको छ ।
‘यो अभियान जारी रहन्छ’ महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवी पौडेलले भने, ‘चोरी नियन्त्रणका अभियानलाई थप प्रभाबकारी बनाउँदै लान्छौं ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार