काठमाण्डौं, २४ माघ : राष्ट्रियसभा सदस्य चयनका लागि आज विहान १० बजेदेखि मतदान शुरु भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने चुनावमा मतदाताहरुमा निकै उत्साह देखिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताएका छन् । चुनाव सुरक्षाका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीसहितको तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
६ वटा प्रदेशमा निर्वाचन
प्रदेश १, ३, ४, ५, ६ र ७ गरी ६ वटा प्रदेशमा मतदान शुरु भएको छ । प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान केन्द्र कायम गरिएको छ । ६ वटा प्रदेशका १२ वटा मतदान केन्द्रमा मतदान हुने जनाइएको छ । प्रदेश २ मा आठै पदसहित २४ सिटमा निर्विरोध भइसकेको छ । निर्विरोध भएकालाई बुधबार नै प्रमाण–पत्र प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
५२ उम्मेद्वार चुनावी भिडन्तमा
राष्ट्रियसभा चुनावमा ३२ सिटमा नौ दलका ५२ जना उम्मेद्वार प्रतिष्पर्धामा छन् । एकल संक्रमणीय मत प्रणाली बमोजिम प्रत्येक प्रदेशबाट आठ जनाका दरले राष्ट्रियसभामा कुल ५६ जना निर्वाचित हुने व्यवस्था संविधानमै छ । प्रत्येक प्रदेशबाट महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीन जना निर्वाचत हुने छन् । महिला तीन र अन्य तीन सदस्यका लागि एकल संक्रमणीय मत प्रणालीअनुसार मतदान हुनेछ भने दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन् । प्रदेश १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध भएकाले दलित १ र अपाङ्गता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी २ सदस्यका लागि मतदान हुँदैछ ।
प्रदेश ३ मा ८ वटै पदमा मतदान हुनेछ । प्रदेश ४ मा अपाङ्गता भएका वा अल्पसंख्यक समुदायबाट १ सदस्यमा उम्मेद्वार निर्विरोध निर्वाचित भएकाले बाँकी सदस्य चयनका लागि निर्वाचन हुँदैछ । यसैगरी, प्रदेश ५ मा महिला ३ सदस्यमा उम्मेदवार निर्विरोध भइसकेकाले अन्य ३, दलित १ र अपाङ्गता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी ५ सदस्यका लागि निर्वाचन हुँदैछ । त्यस्तै, प्रदेश ६ मा सबै पदमा निर्वाचन हुँदै छ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ सदस्य निर्विरोध भएकाले दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी २ सदस्यमा निर्वाचन हुँदैछ ।
फरक–फरक हुन्छ मतभार
स्थानीय तहका मतदाताले सही तरिकाले मत संकेत नगर्दा १८ मतभार र प्रदेशसभा सदस्यले सही तरिकाले मत संकेत नगर्दा ४८ मतभार फरक पर्ने हुनाले मत बदर नहुने गरी संकेत गर्न उम्मेद्वार तथा मतदातासँग आयोगले आग्रह गरेको छ । मतदान सकिएलगत्तै मतगणना शुरु गरी छिटो सक्न सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले बताएका छन् । दुई दिनमा आयोगले सात वटै प्रदेशको अन्तिम परिणाम सार्वजनिक गरी परिणाम राष्ट्रपति समक्ष पेस गर्ने तयारी गरेको छ । मत गणनाका लागि आयोगले प्रत्येक प्रदेशमा तथ्याङ्क विभागका तालिमप्राप्त पाँच जना गणक खटाएको छ ।