एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
संस्थापन पक्षबाट राई र माधवकुमार नेपाल समूहबाट भीम आचार्य चुनावी प्रतिस्पर्धामा उत्रिए । मुख्यमन्त्रीका अर्का दावेदार जीवन घिमिरे भने चुनावी प्रक्रियामा सहभागी भएनन् ।
चुनावमा पार्टी सचिव एवं प्रदेश संयोजक आचार्यलाई दुई मतान्तरले पराजित गर्दै राई संसदीय दलको नेता निर्वाचित भएका छन् । प्रदेश १ को उपसंयोजक समेत रहेका राईले २६ मत पाएका छन् भने आचार्यले २४ मत पाए ।
एक मत भने बदर भएको छ ।
असन्तुष्टको भोट निर्णायक
प्रदेश १ मा नेपाल समूहको प्रष्ट बहुमत थियो । ५१ सदस्य मध्ये नेपाल पक्षका २९ र संस्थापन पक्षको २० भोट थियो भने दुई सांसद कुनै पनि गुटमा खुलेका थिएनन् ।
तर, दलकाे नेताको उम्मेदवार बनेका आचार्य आफ्नै गुटमा रुचाइएका नेता होइन् । उनीमाथि स्थानीय चुनावका क्रममा टिकट बेचेको तथा पार्टीका उम्मेदवारलार्इ हराउन भूमिका खेलेकोसम्म आरोप लागेको छ ।
त्यसैले माधव नेपाल समूहका जीवन घिमिरेले दलको नेता दाबी गरेका थिए । तर, सचिव योगेश भट्टराईसहितका नेताहरुले उनलाई उम्मेदवार बन्नबाट रोके ।
तर, माधव नेपाल पक्षका असन्तुष्ट सांसदहरूले आचार्यलाई मत नदिएको देखिएको र त्यही कारण अल्पमतमा रहेर पनि संस्थापना पक्षले दलको नेताको चुनाव जितेको नेपाल समूहका एक नेताले बताए ।
फागुन २ भित्र प्रदेश सरकार
दलको नेतामा निर्वाचित राईले अब छिट्टै प्रदेश सरकार गठन प्रक्रिया सुरु गर्ने बताएका छन् । उनले भने, ‘अब मुख्यमन्त्री नियुक्त हुने पक्कापक्की भइसक्यो । अब छिट्टै प्रदेश सरकार गठन प्रक्रिया प्रारम्भ हुन्छ । ढिलोमा फागुन २ भित्र बन्छ ।’
९३ सदस्यीय प्रदेशसभामा एमालेको बहुमत (५१ सांसद) छ र, वाम गठबन्धनको भागवण्डामा पनि प्रदेश १ को मुख्यमन्त्री र सभामुख एमालेकै भागमा परेको छ ।