सभामुखमा महराको उम्मेद्वारी दर्ता, कांग्रेसले दिएन उम्मेद्वारी

काठमाडौं, २५ फागुन : प्रतिनिधिसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उमेदवारी दर्ता गराएका छन् । महराले नयाँ बानेश्वर पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । महराको प्रस्तावकमा एमाले नेता तथा पूर्व सभामुख सुवास नेम्वाङ र समर्थकमा माओवादी केन्द्रकै देव गुरुङ रहेका छन् ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सभामुख चयनको कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय तोकिएको छ । कार्यतालिका अनुसार भोलि दिउँसो १ बजे मतदानको समय तोकिएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसले भने उमेदवारी नदिने तयारी गरेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको कार्यालय बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसलगत्तै महरा नेकपा एमालेका नेताहरुसँग संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए । ‘हामीले सभामुख सर्वसम्मत चयन होस् भन्ने चाहेका छौं’, कांग्रेसका एक नेताले भने, ‘राष्ट्रपतिमा विद्यादेवी भण्डारीको कामप्रति चित्त नबुझेका कारण हामीले उम्मेदवारी दिएका हौं । तर, सभामुख सर्वसम्मत चयन होस् भन्ने चाहेका छौं ।’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरु छलफलमै रहेको बताएका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार