डुंगाको भरमा अरुण वारपार

संखुवासभा — सदरमुकाम खाँदबारी र भोजपुरको षडानन्द नगरपालिकालाई जोड्ने अरुण नदीमा निर्माणाधीन पक्की पुल समयमै निर्माण नभएपछि स्थानीय बासिन्दा डुंगाको भरमा अरुण नदी वारपार गर्छन् ।

लंसुवाघाटमा २ वर्षअघि निर्माण सम्पन्न हुनुपर्ने पक्की पुल बनेको छैन ।

दिङ्लाबाट खाँदबारीसम्म मोटरसाइकलमा आएकाहरू पनि डुंगामा राखेर तार्छन् । दिङ्लाका दमन कटुवाल भन्छन्, ‘पुल नबनेपछि बाढी आउँदा पनि डुंगाको भरमा अरुण नदी तर्नुपर्छ ।’ डुंगामा अरुण वारपार गर्दा लाइफ ज्याकेटको प्रयोग पनि हुँदैन, उनले भने, ‘खचाखच गरेर डुंगामा तारिन्छ, लाइफ ज्याकेट त हामीले देखेकै छैन । डुंगा चढ्नुको विकल्प नभएको उनले बताए ।’

‘डुंगामा रहन्जेल मरिन्छ कि बाँचिन्छ भन्ने चिन्ता हुन्छ, उनले भने, ‘यहाँबाट भोजपुरका १८ गाउँमा डुंगामा राखेर दैनिक उपभोग्य सामग्री तारिन्छ ।’ अरुण उर्लिएको बेला केही समयलाई डुंगा तार्ने काम रोकिने उनले बताए । त्यो बेला ५ घण्टा सम्म वारपार हुँदैन । संखुवासभा जिससले यो नदीमा ५ वर्ष र त्यसपछि भोजपुर जिससले ५ वर्षका लागि डुंगा चलाउन ठेक्का लगाउने सहमति भएको छ । सहमतिअनुसार अहिले भोजपुर जिविसले ठेक्का लगाउँदै आएको छ ।

स्थानीय भोला खत्रीका अनुसार डुंगा ठेकेदारले तारेको प्रतिव्यक्ति बीस, सामान तारेको १ रुपैयाँ किलो र मोटरसाइकल तारेको २ सय रुपैयाँ लिने गरेको छ । उनका उनका अनुसार दैनिक ७० देखि २ सय जना स्थानीय दैनिक ओहोरदोहोर गर्छन् ।

सडक विभागको बेवास्ता र ठेकेदारको लापर्वाहीका कारण पुल निर्माणले गति लिन सकेको छैन । ५ वर्ष अगाडि सम्झौता भएको पुलको अहिलेसम्म ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ । पुलको जमिनमुनिको पिलर विल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको बहानापछि पुल अलपत्र परेको दिंलाका स्थानीय अर्जुन अधिकारीले बताए ।

‘२ वर्षअघि नै सकिनुपर्ने थियो, अधिकारीले भने, ‘अहिलेसम्म सकिएन, कछुवा गतिमा पनि निर्माणको काम भएको छैन, हामीले दु:ख झेल्नु परिरहेको छ,’ उनले भने । भोजपुरको षडानन्द नगरपालिकासहित १४ गाउँका स्थानीय किनमेलका लागि डुंगा चढेर सदरमुकाम खाँदबारी आउने गर्छन् । कुल एक सय ६७ मिटर लम्बाइ रहेको पुल १४ करोड लगानीमा निर्माण हुन लागेको थियो ।

भोजपुरको उत्तरी क्षेत्रका बासिन्दाको किनमेल गर्ने बजार खाँदबारी नै हो । खाँदबारीबाट होलसेलमा बिक्री गर्न लगिएको दैनिक उपभोग्य सामग्री पनि यहींबाट डुंगाले तार्नु पर्दा महँगी बढेको कटुवालले बताए । भेल बाढी आउँदा डुंगाबाट सामान तार्दा प्रतिकिलो ५ रुपैयाँसम्म पर्ने भएकाले मूल्य आकासिएको उनले बताए । पुल भए खाँदबारीबाट सीधा दिंलासम्म यातायात चल्थ्यो, उनले भने, ‘अहिले पुलवारि एउटा र पारि अर्को यातायातको साधन तयार गर्नुपर्छ ।’

दिंलावासी पटकपटक तुम्लिङटारस्थित सडक डिभिजन कार्यालयमा आए पनि कर्मचारी कानमा तेल हालेर बसेको स्थानीय प्रेमबहादुर श्रेष्ठले बताए । उनका अनुसार पुल निर्माणका लागि ५ पटक स्थानीयले कार्यालयमा धर्ना दिएका थिए । २०६४ पछि बनेको हरेक सरकारमा भोजपुरका नेताहरूले बिकासे मन्त्रालय सम्हालेका छन्, उनले भने, ‘तर पटकपटक मन्त्री भए पनि नेताहरूले भोजपुरको उत्तरी क्षेत्रको विकास गर्न सकेनन् । चुनाव जितेर गएका नेताहरू पटकपटक मन्त्री भए, उनले भने, ‘खाँदबारीबाट दिंला जोड्ने पुल बनाउनेतर्फ कोही लागेनन् ।’

२०७० को संविधानसभाको निर्वाचन र ९ महिनाअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरूले एउटै प्रतिबद्धता व्यक्त गरेको सम्झदै उनले भने, ‘त्यो प्रतिबद्धता थियो, २०६७ बाट अलपत्र बनेको संखुवासभाबाट भोजपुर जोड्ने अरुण नदीमा बनिरहेको पक्की पुल सम्पन्न गरिदिने । तर, जितेर गएका नेताहरूले अहिलेसम्म बाचा पूरा गरेनन् ।’

यसपटक भोट खसालेर जिताएका नेताहरूको पनि पहिलो एजेन्डा यही पुलका बारेमा थियो, उनले भने, ‘यसपटक चाहिँ पूरा गर्लान् कि ? उनले भने, ‘अरू केही माग छैन नेताहरूसँग एउटा पुल बनाइयोस् । सम्झौता सकिएपछि बाँकी काम बीचमै छाडेर ठेकेदार हिँडेपछि पुल बन्छ कि बन्दैन चासोको विषय बनेको छ ।’

पुल निर्माणको काम कछुवा गतिमा भएपछि भोजपुरका स्थानीयलाई समस्या हुँदै आएको छ । ती गाउँका स्थानीय किनमेलका लागि संखुवासभा सदरमुकाम खाँदबारी आउने गर्छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार