सानैमा बिहे, जवानीमै बिछोड

 १४ वर्षमै प्रेमविवाह गरेकी तल्कोट गाउँपालिका–५ की पुनमकुमारी सिंहले २० वर्षमै श्रीमान्सँग सम्बन्धविच्छेद होला भनेर कल्पनासमेत गरेकी थिइनन् । उनि त्यो समयमा ६ मा अध्यन गर्दै थिइन् | उनले जे सोचेकी थिइनन्, त्यही भइदियो । छिट्टै श्रीमान्सँगको प्रेम बिछोडमा परिणत भयो ।

कक्षा ६ मा पढ्दै गर्दा पुनमको पल्लो गाउँका कक्षा ७ मा पढ्ने १५ वर्षीय गगन सिंहसँग प्रेम भएपछि दुवैको मन्जुरीमै परिवारले बिहे गरिदिएको हो । बिहे गर्नुअघि पुनमको पढाइ राम्रै थियो । विद्यालय पनि नियमित जान्थिन् । तर जब पुनमको बिहे भयो, जीवनमा जिम्मेवारी थपियो । पढाइमा पनि बाधा भयो ।

स्कुले बुहारी भएपछि उनमा घरको चुलोचौकोदेखि मेलापातका काम पनि थपिए ।

बुहारी भएरै स्थानीय विद्यालय तल्कोटबाट उनले जेनतेन ११ पास पनि गरिन् । श्रीमान गगन्ले पुनमसँग तीनचार वर्ष मायाप्रीति साटे । तर पछि के भयो, उनले अर्कै केटीसँग हिमचिम बढाए । ‘ श्रीमान् पहिले मलाई माया गर्थे’, पुनमले भनिन्, ‘पछि म दुब्ली र मेरो सौन्दर्यमा कमी आएपछि उनले अर्कै केटी ताकेर मलाई दुख दिन थाले ।’ अन्ततः पुनमका श्रीमान्ले गतवर्ष छिमेकी गाउँकी अर्की केटीसँग दोस्रो बिहे गरे ।

श्रीमान्ले आफूमाथि सौता ल्याउँदा पनि माइतीलाई पनि कुटपिट गर्छन् कि भन्ने डरले प्रहरीमा उजुरीसमेत दिइनन् । बरु सम्बन्धविच्छेद गरिन् । कलिलो उमेरमै सम्बन्धविच्छेद गरेपछि अन्योलपूर्ण भविष्य उनको अघिल्तिर पहाड बनेर बसेको छ । उनी अब कहाँ जाने, के गर्ने भन्ने चिन्ताग्रस्त अवस्थामा छिन् । उनी अहिले माइतीमै आफ्नो जीवन गुजारिरहेकी छन् ।

बाल्यकालमै प्रेमविवाह गरी चारपाँच वर्ष नपुग्दै सम्बन्धविच्छेद हुने तल्कोटकी पुनम मात्र प्रतिनिधि पात्र होइनन्, धमेनाकी २२ वर्षीया सुशीला धामी, खप्तड छान्ना गाउँपालिकाकी सन्जु गिरी, लक्ष्मी खत्री, सुर्माकी गुनमती बोहरा, छबीस पाथीभेराकी कौशिला उपाध्यायको पनि पीडा यस्तै छ । श्रीमान्हरूले पनि यी महिलालाई दोस्री श्रीमती ल्याएर कसैले घर बस्न दिएका छैनन् भने कोही श्रीमान्सँग अंशबन्डा, मानाचामलका लागि मुद्दा खेप्दै छन् ।

जिल्ला महिला अधिकार मञ्चमा मात्र ३ सय ५० जना महिलाले श्रीमान्विरुद्ध उजुरी दिएका छन् ।

बिहे गर्दा होसियारी नपु¥याउँदा दयनीय अवस्था भोग्नुपर्नेको संख्या गाउँतिर बढी छ । ‘बाल्यकालमै बिहे गर्नु त ठीक होइन’, छबीस गाउँपालीका बाहुन गाउँकी कौशिला उपाध्यायले भनिन्, ‘तर परिबन्धमा परेर बिहे भइहाल्छ । पछि पुरुषले अर्की श्रीमती ल्याउँदा महिलालाई मर्नु न बाँच्नु हुन्छ ।’ यस्ता महिलाहरू भारतमा बेचबिखनमा पर्ने र होटलमा काम गरेर देहव्यपार गर्नुपर्ने अवस्थामा समेत पुगेको उनको भनाइ छ ।

खप्तड छान्ना गाउँपालिका २ की सुन्जु गिरीको वेदना पनि उस्तै छ । १५ वर्षमै बिहे गरेकी उनी श्रीमान् अर्कै केटीसँग लागेपछि समस्यामा परेकी छन् । हालसम्म बझाङमा बाल्यकालमै बिहे गरी २५ वर्ष नपुग्दै श्रीमान्ले दोस्री श्रीमती ल्याएपछि आफूमाथि अन्याय भयो भनेर जिल्ला महिला अधिकार मञ्चमा मात्र ३ सय ५० जना महिलाले उजुरी दिएको मञ्चकी कर्मचारी सीता सिंहले जानकारी दिइन् ।

बालविवाहकै कारण बहुविवाह र सम्बन्धविच्छेदका घटना धेरै आउने गरेको उनको भनाइ छ । श्रीमान्ले दोस्रो बिहे गरेपछि जेठी श्रीमतीलाई नागरिकता, विवाह दर्ता, छोराछोरीको जन्मदर्ता नहुने र अंश नपाउनेजस्ता समस्या देखिएको उनले बताइन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार