सुनसरी — सुनसरीको इटहरी उपमहनगरपालिकाको तरहरास्थित शिव जल उद्योग प्रालीले उत्पादन गरेको पिउने पानीको जारमा किरा फेला परेको छ । जारमा किरा फेला परेपछि उद्योग विरुद्ध मंगलबार कारवाहीका लागि उजुरी परेको छ ।
फोटो: पानीको जारमा किरा फेला परेपछि प्रहरीले मंगलबार नियन्त्रणमा लिएको तरहरास्थित शिव जल उद्योग प्रालीद्धारा उत्पादित पानीसहितको जारमा देखिएको किराहरु । तस्बिर: प्रदीप/कान्तिपुर
पानी उत्पादक कम्पनी विरुद्ध धरान– १८ का वडाध्यक्ष प्रविण राईले उजुरी दिएका हुन्।
रत्नचोकस्थित घरमा पिउनका लागि वडाध्यक्ष राईका बाबु ध्यानबहादुर राईले नजिकैको किराना पसलबाट किनेर ल्याएको फिल गुड ब्राण्डको पानीले भरिएको जारभित्र किराहरु सलबलाएको फेला परेको थियो।
इलाका प्रहरी कार्यालयमा कारवाहीका लागि उजुरी दिएपछि वडाध्यक्ष राईले भने, ‘खाने पानीको जारबाट पानी सार्न भनेर हेरेको साना साना लाम्चा लाम्चा परेका टेपवर्म जुका जस्ता किरै किरा पो सलबलाई रहेका देखियो। किरासरीको पानी उपभोक्तालाई विक्री गर्नु जनस्वास्थ्यप्रति पानी उत्पादक कम्पनीले खेलबाड गरेको ठहर गरेर नियम अनुसार कारवाही गर्न माग गरिएको छ।’
शतप्रतिशत शुद्ध प्राकृतिक पिउने पानी भनेर प्रचार गर्दै उपभोक्तालाई पानी विक्री वितरण गर्दै आएको उक्त उद्योगले लापारवाही गरेको उपभोक्ताहरुले बताएका छन्।
यसैबीच प्रहरीले तरहरास्थित शिव जल उद्योग प्रालीको पानी वितरण गर्ने को १ च ९९१८ नम्बरको गाडी नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले उपभोक्ताको स्वास्थ्यमा खेलवाड र हेलचेक्राईँ गर्ने जो कोहीलाई छुट नहुने भएकाले कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाउने बताए।
तर पानी उत्पादक कम्पनीका मालिक विकल दाहालले पहिलो पटकलाई माफ मागेकाले प्रमुख जिल्ला जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीलाई जानकारी दिदै छाडिएको डिएसपी पौडेलले बताए।