अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा उक्लिए,को हुन् शेष घले ?

काठमाडौं ११ जेठ। गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१ औँ नम्बरमा उक्लिन सफल भएका हुन् ।

अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले हिजो सार्वजनिक गरेको सन् २०१८ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८७ करोड ६० लाख डलर सम्पत्तिसहित ८१ औँ स्थानमा परेका हुन् । अब उनीहरु डलर अर्बपतिको नजिक पुगेका छन् ।

घले दम्पतीको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै २३ करोड डलर वृद्धि भएको देखिएको छ । गत वर्ष उनीहरुको कुल सम्पत्ति ६४ करोड ७० लाख डलर थियो । एक वर्षमै उनीहरुको सम्पत्ति झण्डै ३५ प्रतिशतले बढेको छ ।

सन् १९९० को दशकको सुरुतिर अध्ययनका लागि अष्ट्रेलियाका पुगेका घलेले एकाउन्टिङ तथा प्राविधिक विषय पढाइ हुने मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीको स्थापना गरे । अहिले एमआइटीमा झण्डै ३ हजार विद्यार्थी अध्ययनरत छन् । घले उक्त इन्स्टिच्युटका म्यानेजिङ डाइरेक्टर हुन् भने गुरुङले बिजनेस र मार्केटिङ विभाग सम्हाल्दै आएकी छिन् ।

घलेले झण्डै चार वर्षसम्म गैरआवासीय नेपाली संघको नेतृत्व सम्हालेका थिए । गैरआवासीय नेपाली संघका पहिलोपटक निर्वाचनमार्फत् नेतृत्वमा पुगेका उनले संस्थाको उचाइ र विश्वसनियता बढाउन निकै मेहेनत गरेका थिए । ०७२ को महाभूकम्पपछि उनीहरुले राहत वितरण र वस्ती निर्माणको जोखिमपूर्ण कामको नेतृत्व गरेका थिए ।

को हुन् शेष घले ?

लमजुङको दुर्गम घनपोखरा गाविसमा जन्मिएका घले आफ्नो मेहनत र लगनशीलताको बलमा अष्ट्रेलियाका ९९ औं धनी व्याक्ति बनेका छन् । सन् २०१३ मा उनी अष्ट्रेलियन धनाढ्यको सूचीमा १ सय ८० औँ स्थानमा थिए । सन् २०१५ मा आएर उनी ९९ औँ स्थानमा उक्लिएका छन् । २०१५ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले ५२ करोड ८० लाख डलर सम्पत्तिसहित ९९ औँ स्थानमा परेका हुन् ।

उनी मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) अस्ट्रेलियाका संस्थापक र प्रमुख कार्यकारी अधिकृत हुन् । जहाँ यस संस्थाका सहायक संस्थापक उनकी श्रीमती जमुना गुरुङ निर्देशक छिन् । यी दम्पतिले यो संस्था सन् १९९६ मा स्थापना गरेका हुन् । स्थापना कालदेखि यता यो संस्था अष्ट्रेलियाको स्नातक र स्नातकोत्तर तहमा व्यापार र सूचना प्रविधि विषयको डिग्री दिने एक प्रतिष्ठित निजी शैक्षिक संस्था बन्न पुगेको छ । एक वर्षमा तीन हजार देशी विदेशी विद्यार्थीहरूले डिग्री लिने यस इन्स्टिच्युटले सुयोग्य र सक्षम जनशक्ति निर्माण गरिरहेको अनलाइनहरूले समीक्षा गरेका छन् ।

एमआइटी सञ्चालनको पहिलो वर्षदेखि नै नाफामा गएको थियो । यद्यपि घले यसको नियन्त्रिण र निर्धारित वृद्धिमा विश्वास गर्दछन् । उनले आफ्नो संस्थाको दिगो र दरिलोपनाको लागि तथा बजारको विश्वसनीयताको लागि विभिन्न विश्वविद्यालयसँग साझेदारी गरेका छन् । अहिले एमआइटीले साझेदार विश्वविद्यालयको तर्फबाट आफैले विभिन्न मुख्य कोर्सहरू विकास गरिरहेको छ । यसले साझेदार विश्वविद्यालयमा बढी भर पर्नुपर्ने अवस्थालाई पनि घटाइरहेको छ ।

अहिले एमआइटीमा ३० प्रतिशत मात्र घरेलु विद्यार्थी पढ्छन्, अरु सबै विदेशी । घले छोटो मध्य अवधिमा घरेलु विद्यार्थीको संख्या ५० प्रतिशत पुर्‍याउन लागि परेका छन् । शेष घलेको जन्म लमजुङमा सम्बत् २०१४ सालमा भएको थियो । उनले प्रारम्भिक शिक्षा गाउँमा नै हासिल गरे भने पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट स्नातक पूरा गरेका थिए । पछि उनले नेपाल सरकारको छात्रवृत्तिबाट तत्कालीन सोभियत संघमा पढ्ने अवसर पाए । उनले त्यहाँ सिभिल इन्जिनियरमा स्नातकोत्तर गरे ।

छात्रवृत्ति पाएपछि १९७९ मा उनी तत्कालिन सोभियत संघ पुगेका थिए । पढ्दा पढ्दै दूर्घटनामा खुट्टा भाँच्चिएर १८ महिना अस्पतालमा गुजार्न परेपछि उनलाई इन्जिनियरिङ सिध्याउन ७ वर्षभन्दा बढी लाग्यो । हाइवे इन्जिनियर बनेर १९८७ मा स्वदेश फिरेका उनले दार्चुला–बैतडी सडक परियोजनामा जागिर पाइहाले । सबै कुरा ठिकठाक चलिरहेको थियो । जागिर निरन्तर गरेको भए उनी सडकको महानिर्देशक–सचिव पनि हुनसक्थे । तर जागिरको तीन वर्षपछि काठमाडौं आउँदाको एउटा कार्यक्रमले उनको बाटो अन्यत्रै मोडियो । एभरेष्ट होटलमा एजुकेशन फेयर हेर्न उनी गएका थिए । अष्ट्रेलियामा पढ्न आकर्षित गर्न फेयर गरिएको थियो । मेलबर्नको ठूलो तस्वीर टाँगिएको थियो । जोडेको जग्गा जमिन बेचेर उनले मेलवर्न जान आवेदन गरे।

मेलबर्नमा उनी साताको सातै दिन काम गर्थे, कलेजमा पनि नियमित विद्यार्थी थिए । एमबिए गरेपछि अलि राम्रै काम पाए । तैपनि उनी थप कमाईका लागि फलफूल टिप्न टाढासम्म पुग्थे । सन १९९५ मा अष्ट्रेलिया सरकारले त्यहाँ पढेका विद्यार्थीहरुलाई परमानेन्ट रेसिडेन्ट दिने योजना ल्यायो । उनी सजिलै पिआर भइहाले । दिनरात मेहनत गरिरहेका उनले सन २००२ मा बन्द भएको कलेज किनेपछि सफल व्यवसायीको सिंढी उक्लिन थालेको उनी बताउँछन् ।

पढाई सकेर घले नेपाल फर्किए, र नेपाल सरकार यातायात विभाग अन्तर्गत राजमार्ग परियोजनामा इन्जिनियरको रुपमा काम गरे । जब उनी सन् १९९० मा थप पढाईको लागि अस्ट्रेलिया गए, त्यहाँ उनले १९९४ मा भिक्टोरिया विश्वविद्यालयबाट व्यापार प्रशासन ९एमबीए० मा अर्को स्नातकोत्तर मात्र पूरा गरेनन्स संयोगवश एमआइटीको स्थापना गरे । लगत्तै एक साल पछि १९९७ मा उनले अस्ट्रेलियाको नागरिकता पाएस उनी त्यहीका नागरिक बने । उनले नेपालको कन्सुलरको रुपमा भिक्टोरियामा त्यही सालदेखि ३ वर्षसम्म काम गरे ।

घले अहिले सक्रिय रुपमा मेलवर्नको व्यापार र व्यावसायिक जीवनमा लागिपरेका छन् भने शैक्षिक उन्नतिसँग प्रतिवद्ध छन् । रियल स्टेटमा पनि उनी जमेका छन् । विना योजना अष्ट्रेलिया छिरेको बताउने घलेले पत्रिका बेच्ने देखि साना पसलहरूमा काम गरेको बताउँछन् । एनआरएनएको अध्यक्ष निर्वाचित भइसकेपछि घलेले गैर आवासीय नेपालीहरूको ज्ञान र सीप नेपालमा भित्र्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले गएको निर्वाचनको अध्यक्षमा निर्वाचित हुँदा प्रत्यासी कोरियाका तेन्जी शेर्पाको १ सय ८० मतका विरुद्ध ५ सय १० मत ल्याएका थिए ।

यसपालीको निर्वाचनमा उनले निर्वाचनमा टेकबहादुर ९टीबी० कार्कीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । घलेले ८६७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले २६६ मत पाए । उनले नेपालमा ८ अर्ब लगानीमा पाँच तारे होटल निर्माण गर्दैछन् । विश्व बजारमा साम्राज्य जमाएको सेराटनसँगको प्राबिधिक साझेदारीमा उनले पाँच तारे होटल खोल्न लागेका हुन् । नारायणहिटी दरबार नजिकको १३ रोपनी जग्गामा होटल निर्माणको काम भईरहेको छ । २ सय २५ कोठाको होटल सन् २०१८ फेब्रुअरीसम्ममा सञ्चालन गर्ने तयारी छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार