सोमबारसम्म ‘भारी वर्षा’ हुने

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि सोमबारसम्म देशका केही भागमा भारी वर्षा हुने भएकाले सचेत रहन आग्रह गरेको छ ।

महाशाखाले विशेष बुलेटिन निकालेर शनिबारदेखि सोमबारसम्म देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने उल्लेख गरेको छ।

काठमाडौंसहित मध्यभागमा भने हल्कादेखि मध्यम खालको मात्र वर्षा हुने महाशाखाको अनुमान छ। आइतबार बागमती र रिउखोला, पश्चिमतर्फका सबै नदीहरु राप्ती, बबई, मोहना, मछेलीलगायतका नदीमा पानीको बहाब सतर्कता तह आसपास पुग्ने भएकाले सचेत हुनसमेत आग्रह गरेको छ।

यस्तै, शनिबारबाट पहाडी र चुरेबाट बहने स–साना नदीमा पानी परेको बखत सचेतना अपनाउनसमेत महाशाखाले ध्यानाकर्षण गराएको छ। स–साना नदीहरुमा एकाएक पानी बढ्न सक्ने भएकाले शनिवार नदी तटीय क्षेत्रमा गर्नुपर्ने काम जस्तै: बालुवा निकाल्ने, गिट्टी कुट्नेलगायतमा सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाले मनसुन सुरु भएदेखि नै २४ सै घण्टा देशभरका नदीमा बहने पानीको बहावबारे सर्वसाधारणलाई जानकारी गराएको छ। बाढीको सम्भावना भएका क्षेत्रमा जल तथा मौसम विज्ञान विभागको बाढी भविष्यवाणी शाखाले एनटीसी र एनसेलको मोबाइल सेटमा सूचना पठाउने गरेको छ। त्यस्तो सूचना प्रभावकारी भएको पुष्टि भएपछि तीन वर्षदेखि निरन्तरता दिइएको हो।

 

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार