कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

अर्जेन्टिनाले तोड्यो २८ वर्षको उपाधि खडेरी, मेस्सीले जिते पहिलो अन्तर्राष्ट्रिय ट्रफी

अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ । सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक कोपाको उपाधि जितेको हो । २८ वर्षमा अर्जेन्टिनाले जितेको यो कुनै पनि ठूलो उपाधि समेत हो ।

त्यसयता अर्जेन्टिनाले चार कोपा फाइनल एक विश्वकप फाइनल र दुई कन्फ्रेडेरेसन कप फाइनल गरी कुल ७ फाइनल खेले पनि सबैमा पराजित भएको थियो ।

यस्तै मेस्सीले पनि पाँचै पटक फाइनल खेल्दा अन्तत: पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् ।

मेस्सीले २००७, २०१५ र २०१६ कोपा र २०१४ को विश्वकप फाइनल खेले पनि उपाधि जित्न सकेका थिएनन् । डेढ दशकको प्रयासपछि ३४ वर्षीय मेस्सीले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेका हुन् । मेस्सीले फाइनलमा गोल गर्न नसके पनि यस संस्करणमा ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरे ।

मेस्सीले यसअघि सन् २००८ मा चीनमा भएको ओलम्पिकमा गोल्ड मेडल जितेका थिए । तर त्यो यु-२३ टिमले खेल्ने प्रतियोगिता थियो ।

ब्राजिललाई उसैको मैदानमा हराउन अर्जेन्टिनाका लागि एन्जल डि मारियाले निर्णायक गोल गरे । यसअघि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर खेलेका डि मारियाले फाइनलमा पहिलो रोजाइँमै खेल्ने अवसर पाएका थिए । जसमा उनले न्याय पनि गरे ।

रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा डि मारियाले २२औं मिनेटमा गोल गरेका थिए ।

त्यही गोल नै निर्णायक बन्दा अर्जेन्टिनाले उपाधिकाे खडेरी तोडेको हो ।

डि मारिया

रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए ।

पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन ।

अर्जेन्टिनाका कप्तान मेस्सीले पनि दोस्रो हाफमा गोल गर्ने अवसर गुमाए ।

अर्जेन्टिनाले ठूलो प्रतियोगितामा फाइनलमा गोल गरेको यो १६ वर्षपछि पहिलो हो । सन् २००५ मा अर्जेन्टिनाले पछिल्लो पटक गोल गरेको थियो । त्यो बेला कन्फेडेरेसन कपमा अर्जेन्टिना ब्राजिलसँगै पराजित भएको थियो ।

यस्तै कोपामा भने अर्जेन्टिनाले २००४ मा पछिल्लो पटक गोल गरेका थिए।

यसपटक कोपा शुरुमा कोलम्बिया र अर्जेन्टिनामै हुने तय थियो । तर अन्तिम समयमा आएर आयोजक परिवर्तन भएको थियो । कोलम्बियामा सरकारविरुद्धको प्रदर्शनपछि अर्जेन्टिनाले एक्लै आयोजना गर्ने तयारी गरिरहेको थियो । तर त्यहाँ कोभिड-१९ को संक्रमण दर बढ्दै गएपछि दक्षिण अमेरिका फुटबलको सर्वोच्च निकाय कन्मेबोलले ब्राजिलमा कोपा गर्ने निर्णय गरेको थियो ।

शुरुमा ब्राजिलकै खेलाडीले विरोध गरे पनि पछि दक्षिण अमेरिकाका सबै १० टिमले प्रतिस्पर्धा गरे ।

अर्जेन्टिनाले अपराजित रहँदै उपाधि जित्दा ६ खेल जित्यो । एक खेल भने बराबरी खेलेको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार