कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मेरो पार्टी सदस्यता नवीकरण भइसक्यो, यसमा विवादमा पार्नुपर्ने विषय नै होइनः पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं, ९ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन् । आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यतामा विवाद गर्नुपर्ने विषय नै नरहेको बताईन् । उनले आफू राजनीतिक व्यक्ति रहेको र राजनीतिक व्यक्ति भएकै कारण देशको सर्वोच्च पद राष्ट्रपति बनेको पनि बताईन् । उनले राष्ट्रपतिको भूमिका पूरा गरिसकेपछि पुनः राजनीतिक दलमा आवद्ध बनी देश र जनताको सेवा गर्नु कुनै नौलो कुरा नहुने बताईन् ।

‘वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन । म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आवद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन । यो संवैधानिक अधिकारमात्रै होइन । म राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ । बाँकी जीवन आफ्नो पार्टीमा नै राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा म पुगेको हुँ,’– उनले भनिन् ।

साथै, उनले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ताबारे पनि बताईन् । भेटवार्तामा पार्टी सदस्यता नवीकरण गरेको जानकारी गराएको पनि उनले सुनाईन् । ‘मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिवत ढङ्गले पार्टी सदस्यता नवीकरण गरेको र यसै आधारमा पार्टीमा आवद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको थिएँ । यसको भोलिपल्ट पार्टी केन्द्रीय समितिले मेरो सदस्यता नवीकरण नगरेको कुरा पार्टीले गरेको निर्णयबारे जारी गरिएको विज्ञप्तिबाट थाहा पाएँ,’– उनले भनिन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार