सासूबुहारी र आमाछोरी नै हारे …

 

धादिङ : स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने दिन गत वैशाख १९ गते धादिङबेसीमा छुट्टै चर्चा थियो । चर्चाका पात्रहरू हुनुहुन्थ्यो नीलकण्ठ नगरपालिका वडा नं ७ की चिनिमाया परियार र कल्पे परियार । देशैभरि भइरहेको उम्मेदवारी मनोनयको क्रममा उहाँहरू चर्चित हुनुको कारण थियो, एकै घरका सासूबुहारी फरकफरक पार्टीबाट निर्वाचनमा होमिदै हुनुहुन्थ्यो ।

तर उहाँहरू दुवैजना निर्वाचनमा भने पराजित हुनुभएको छ । उम्मेदवारी दर्ता गर्दाको समयमा अन्नपूर्णसँगको कुराकानीमा आफैँले जित्ने दाबी गर्नुभएका एमालेको तर्फबाट दलित महिला सदस्यकी उम्मेदवार सासू चिनिमाया र माओवादी केन्द्रको उम्मेदवार बुहारी कल्पे दुवैलाई हराउँदै कांग्रेसकी उम्मेदवार मीनाकुमारी विश्वकर्मा विजयी हुनुभयो ।

विजयी भएपछि मीनाले भन्नुभयो, ‘दलितको हकअधिकार वकालत गर्न निर्वाचनमा सरकारले नै कोटा छुट्याएको थियो, त्यसको फाइदा उठाएँ, म कांग्रेसको तर्फबाट निर्वाचित भए पनि कुनै पार्टीलाई भेदभाव नगरी सबैलाई समेटेर अधिकारको पैरवी गर्नेछु ।’ चिनिमायाले ३ सय ९७ मत पाउनुभएको थियो भने उहाँकी बुहारी कल्पेले ५ सय १ मत पाउनुभएको थियो । उहाँहरू दुवैलाई हराउँदै कांग्रेसकी उम्मेदवार मीनाले ६ सय ७० मत ल्याउँदै विजयी हुनुभएको थियो ।

पराजित भए पनि आफूलाई कुनै दुःख नलागेको चिनिमायाले बताउनुभयो । ‘मैले पहिलेदेखि नै सूर्यमा भोट हालेको भएर नेताहरूले तपाईं उठ्नुस् भन्नुभयो र चुनावमा उठें । जसले जिते पनि एकजनाले जित्ने हो, कुनै दःख लागेको छैन । उहाँहरूले उम्मेदवारी दिएको वडामा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार गौतमहरि अधिकारीको प्यानल नै निर्वाचित भएको छ । गौतमहरिका दाइले नीलकण्ठ नगरपालिकोको मेयरमा उम्मेदवारी दिनुभएको भए पनि उहाँले पछि कांग्रेसलाई समर्थन गर्नुभएको थियो ।

आफूले पराजय बेहोरे पनि गाउँ समुदायमा राम्रो काम गरेर अर्को पटक जित्ने कल्पेले विश्वास व्यक्त गर्नुभयो । ‘चुनाव हो, एकजनाले मात्रै जित्छ, यो पटक जित्न सकिएन’, कल्पेले भन्नुभयो, ‘जसले जिते पनि गाउँ समाजकै लागि काम गर्ने हो, राम्रो काम गरेर अर्को पटकको चुनाव जित्नेछु ।’
सिद्धलेक गाउँपालिकामा उमेदवारी दिएका आमाछोरी पनि दुवैजना पराजित हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सिद्धलेक गाउँपालिका उपप्रमुखमा उम्मेदवारी दिनुभएकी ज्ञानुमाया सिलवालले थोरै मत प्राप्त गर्नुभयो भने उहाँकी छोरी सरिना सिलवाल भट्टराई सिद्धलेक गाउँपालिकाको वडा नं १ को महिला सदस्यमा एमालेकी उम्मेदवारसँग पराजित हुनुभयो ।अन्नपुर्ण पोष्टबाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent