स्थानीय तहको चुनावको विरोधमा लाठी जुलुस…

भैरहवा : संविधान संशोधन विना स्थानीय तहको निर्वाचन गर्ने तयारी भएकोप्रति असहमति जनाउदैं राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले भैरहवामा लाठी जुलुस प्रर्दशन गरेको छ ।
सरकार र चुनावको विरोध गर्दै तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस समाजवादी पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीका कार्यकर्ताले एक हातमा लाठी र अर्को हातमा पार्टीको झण्डा लिएर संयुक्त रुपमा भैरहवा बजार परिक्रमा गरेका छन् । माग पुरा हुनेभए चुनाव लड्नका निम्ती यी पार्टीहरु एकीकरण भएर राजपा बनेको छ ।

 


केन्द्रको निर्देशन एवं पार्टीको पूर्व निर्धारित कार्यक्रम अनुसार लाठी जुलुस निकालेको पूर्वमन्त्री एवं सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव गुल्झारीले जानकारी दिनुभयो ।
प्रहरी टोलस्थित राजपाको पार्टी कार्यालयबाट निस्केको लाठी जुलुस कालिका पथ, बैंकरोड हुँदै मिलन चोक पुग्दा प्रहरीले प्रर्दशनकारीहरुको लाठी खोसेर कब्जामा लिएको छ ।
सुरक्षाकर्मीले प्रर्दशनकारीको हातबाट लाठी खोस्ने क्रममा एकजनाले बोकेको पार्टीको झण्डा च्यातिएपछि प्रहरी र प्रर्दशनकारीबीच भनाभन भएको छ । झण्डा च्यात्ने प्रहरीमाथि राजपाले कार्यवाहीको माग गरेको छ। मधेसी जनताको माग पूरा नगरी चुनाव गराउन खोजिएकोमा राजपाका स्थानिय नेता एवं कार्यकर्ता आक्रोशीत छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार