काठमाडौँ, १६ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले यही अबस्थामा चुनावमा भाग नलिने स्पष्ट पारेको छ ।
नेपाली काँग्रेसले मंगलबार बानेश्वरमा आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिँदै राजपाका नेताहरुले आफ्ना मागहरूको सम्बोधन नभएसम्म चुनावमा भाग नलिने स्पष्ट पारेका हुन् । काँग्रेस र माओवादीले राजपालाई पनि सहभागी गराउने शर्तमा चुनावको मिति सार्न एमालेलाई मनाएका थिए ।
बैठकमा राजपाका नेताहरुले आफूहरू निर्वाचनको पक्षमा रहेपनि संविधान संशोधन, स्थानीय तहको संख्यामा वृद्धि लगायतका माग पूरा नभएसम्म चुनावमा भाग नलिने र नयाँ बन्ने सरकारलाई पनि समर्थन गर्न नगर्ने बताएका हुन् । सरकारले तोकेको मितिमा मुस्लिमको पर्व पर्ने भएकाले नयाँ मिति झनै अव्यवहारिक रहेको उनीहरुको भनाइ थियो ।
राजपा चुनावमा आउने विश्वासमा सरकारले सोमबारमात्रै असार ९ गते गर्ने चुनावको मिति सारेको थियो । मधेशी नेताहरु आज बिहानै भारतीय दूतावास पुगेका थिए । भारतीय राजदूतसँगको भेटपछि उनीहरुको कुरा फेरिएको हो ।दैनिक नेपाल