काठमाडौं, ६ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि २० हजार ६ सय १५ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका छन् ।
यसैगरी निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई अनुशिक्षण कार्यकासाथै समन्वय, अनुगमन तथा निरीक्षण निर्देशनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रकाश ओझा, शैलेन्द्र खनाल, पुष्पराम केसी र रामशरण पौडेल विभिन्न प्रदेशहरुमा खटिनुभएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुले ती ठाँउहरुमा स्थलगत अनुगमन गर्नुकासाथै कुनै त्रुटि देखिएमा तत्काल सुधारका लागि फिल्डमै निर्देशन समेत दिनुहुने छ ।
निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि खटिएका मध्ये १ नम्बर प्रदेशको १४ जिल्लामा ७ हजार ६ सय ६२ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका छन् भने ५ नम्बर प्रदेशको १२ जिल्लामा ७ हजार ७ सय ९१ जना तथा ७ नम्बर प्रदेशको ९ जिल्लामा ३ हजार ७ सय ८८ जना खटिएका छन् ।
यसैगरी मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको सुरक्षाका लागि ३ सय ३४ वटै स्थानीय निकायमा एपीएफ टोली खटिइसकेको छ भने फिल्डमा खटिने एपीएफ टोलीको अतिरिक्त मोवाइल, स्ट्राइकिङ्ग र रजिर्भ टोलीमा विभाजन गरी सशस्त्र प्रहरी कर्मचारीहरु सम्बन्धित ठाँउमा खटिएका छन् ।दैनिक नेपाल