‘डन’ ‘राधे’द्वारा ‘चरी’बाट चोइटिएको समूहमाथि आक्रमण

धदिङ, ७ असार । धादिङका स्थायी बासिन्दा कथित ‘डन’ अर्थात गुण्डा नाइके राधे भण्डारीको आतंक फेरि सुरु भएको छ ।

गुन्डा नाइके राधेको समूहले खुँडा प्रहार गरेर आयुप तामाङलाई गम्भीर घाइते बनाएका छन् । राधेको समूहले अन्धा धुन्दा खुँडा प्रहार गर्दा धादिङका तामाङ गम्भीर घाइते भएका हुन् ।

धादिङबेसीस्थित शान्ताबजार चोकमा सोमबार राति करिव ८ बजेतिर खुँडा हानाहान भएको थियो । शान्ताबजारमा रहेको एक होटलमा आयुप तामाङले खाजा खाइरहेका बेला गुन्डा नाइके राधेको समूहले उनीमाथि खुँडा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन ।

तामाङलाई अन्धाधुन्द खुँडा प्रहार गर्नेमा गुन्डा नाइके राधे भण्डारी, उनका भाई गोपीकृष्ण भण्डारी, सन्देश तामाङ, प्रकाश तामाङ, ब्रिजेश गुप्ता र मोहन पाण्डेको समूह संलग्न रहेको प्रहरीले जनाएको छ । खुँडा प्रहारबाट आयुप तामाङको एउटा हात चत्रक्कै छिन्नै लागेको छ ।

टाउकोमा खुँडा प्रहार गरेको बेला हातले छेक्दा उनको हात चुँडिने अवस्थामा पुगेको पीडित पक्षको भनाइ छ ।

तामाङको टाउकोमा पनि गम्भीर चोट लागेको छ । खुँडा प्रहारबाट बीच सडकमै ढलेका तामाङ अचेत अवस्थामा थिए । तामाङलाई आक्रमण गर्न राधे समूह ६ वटा मोटरसाइकलमा आएको थियो । आक्रमणपछि सो समूह फरार भएको छ ।

गम्भीर घाइते आयुप तामाङको अवस्था चिन्ताजनक छ । तामाङलाई तत्कालै एम्बुलेन्समार्फत काठमाडौंस्थित न्यूरो अस्पताल ल्याइएको छ ।

धादिङका गुन्डा नाइके राधे भण्डारीको समूहले केही दिनअघि आयुपको गाडी तोडफोड गरेका थिए । आफ्नो गाडी तोडफोड भएपछि आयुपले प्रहरीलाई उजुरी हालेका थिए । प्रहरी प्रशासनले मिलापत्र पनि गरेको थियो । त्यही घटनालाई कारण बनएर प्रहरीकोमा उजुरी किन हालिस भन्दै राधे समूहले आक्रमण गरेको आरोप छ ।

आयुप तामाङ कुनै बेला ‘चरी’ समूहका गुन्डा नाइके हुन् । प्रहरी इन्काउन्टरमा ‘चरी’को ज्यान गएपछि आयुप तामाङ माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अहिले उनी धादिङको नीलकण्ठ नगरपालिकामा माओवादी केन्द्रको नगर कमिटी अध्यक्ष भएका छन् । यी दुईबीच धादिङमा ठेक्कापट्टाका विषयमा विवाद हुने गरेको छ ।

धादिङका गुण्डा नाइके राधे प्रहरीको गुण्डा लिस्टको ‘बि’ ग्रेडमा छन् । धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिशन राधेले लिनेको गरेको आरोप छ ।

गुण्डा नाइके दिनेश अधिकारी अर्थात ‘चरी’ समूहले राधेका भाईको हात काटिदिएपछि राधे समूह सक्रिय भएको थियो । प्रहरी मुढभेडमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी (चरी) माथि त्यही रिसिइबीमा २०७० असार २१ मा धादिङबाट राजधानी फर्किने क्रममा राधेको समूहले ज्यान मार्ने उद्देश्यसहित गोली हानेको थियो ।
दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार