कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गर्दा भोजपुरमा रंगेहात फेला परे एमाले उम्मेदवार

काठमाडौं, १३ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गर्दा एमाले उम्मेदवार रंगेहात फेला परेका छन् ।

भोजपुर नगरपालिका–१० मा एमालेका वडाध्यक्षका उम्मेदवार जितबहादुर राई मौन अवधिमा मतदातालाई पैसा बाडिरहेको अवस्थामा फेला परेका हुन् । वडा नम्बर १० स्थित भैंसिपंखाको असिनेमा उनलाई पैसा बाँडिरहेको अवस्थामा कांग्रेस कार्यकर्ताले सोमबार राति ११ बजे फेला पारेका थिए ।

राईसहितको टोलीले मतदातालाई विभिन्न आश्वासन र प्रलोभन देखाउँदै सामान बाँडिरहेको अवस्थामा फेला पारिएको कांग्रेस भोजपुरका सचिव चक्र कार्कीले जानकारी दिए ।

राईको साथबाट फेला पारिएका सामाग्री
उम्मेदवार राई सहितको टोलीलाई ३५ हजार नगद, करिब चार हजारको रिचार्ज कार्ड पार्टीको घोषणापत्र, पर्चा ह्विस्कीका बोतलसहित फेला पारिएको कांग्रेस उम्मेदवार सुवीन्द्र राईले बताए ।

भोजपुर नगरपालिकामा गाभिएका आठ गाविसमध्ये साविकको भैंसिपंखा गाविस (भोनपा १०) कांग्रेसको गढ मानिन्छ । ‘कांग्रेसको माहोल देखेपछि आत्तिएर एमालेले पैसा बाँढ्यो,’ सचिव कार्कीले मिडिया एनपीसँग भने, ‘अहिलेसम्म एमालेले यो वडामा दुई लाख बढी बाँडिसकेको छ । यसरी बाँड्दै हिँड्ने क्रममा हाम्रा कार्यकर्ताले फेला पारे ।’
मिडिया एनपी

 

उनले निर्वाचन आचारसंहिताविपरीत एमालेले पैसा बाँडेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएका छन् । नियन्त्रणमा लिइएका सामग्री कांग्रेस कार्यकर्ताले प्रमाणका लागि जिल्ला निर्वाचन कार्यालय ल्याएका छन् । वडाध्यक्षका उम्मेदवारले पैसा बाँडेको विषयमा एमाले सचिव शरणकुमार राईले भने जानकारी नभएको बताए । ‘म अहिले गाउँ आएको छु । यो विषयमा केही जानकारी छैन,’ उनले भने ।

ऐन कानुन के भन्छ ?

निर्वाचन आचरसंहिताअनुसार मतदातालाई प्रलोभनमा पार्ने कुनै पनि कार्य गर्न पाइँदैन । कसैले मतदातालाई प्रलोभन देखाएर मत मागेमा त्यो आचारसंहिता विपरित हुन्छ । यो सँगै ११ गते राति १२ बजे देखि नै मौन अवधि शुरु भइसकेको छ । स्थानिय तह निर्वाचन निर्देशिका २०७३ को दफा ६९ मा मौन अवधिमा मत माग्न निषेध गरिएको छ ।

दफा ६९ को (१) मा मौन अवधि सुरु भएपछि मतदान सम्पन्न नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार दिन हुँदैन भन्ने उल्लेख छ । यदि मौन अवधिको पालना नगरी आचारसंहिता विपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन २०७३ अनुसार हदैसम्मको कारबाही गर्ने व्यवस्था छ ।

यस्तै, निर्वाचन कसुर तथा सजाय ऐनको दफा २० को उपदफा १ (च) मा उम्मेदवारले कुनै किसिमको लोभलालच देखाउन वा आर्थिक प्रलोभनमा पार्न नहुने उल्लेख छ । यदि त्यसविपरीतको कार्य गरे एक लाख रुपैयाँ जरिवाना दुई वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ । यद्यपि जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले यस विषयमा लिखित वा मौखिक उजुरी आए उम्मेदवारी खारेज गर्ने बताए ।

कांग्रेस उम्मेदवारलाई ज्यान मार्ने धम्की

रंगेहात फेला पारेपछि एमाले उम्मेदवार राईका छोरा राजन राईले कांग्रेस महिला सदस्यकी उम्मेदवार रामकुमारी प्रधानलाई ज्यान मार्ने धम्की दिएका छन् । ज्यान धम्की दिएपछि प्रधानले राईविरुद्ध प्रहरीमा उजुरी दिने तयारीसमेत गरेकी छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent