गोर्खाल्याण्ड आन्दोलनको समर्थनमा प्रशान्तले गीत बनाउँदै…

नयाँदिल्ली । नेपाली मुलका भारतीय गायक एवम् नायक प्रशान्त तामाङले गोर्खाल्याण्डको आन्दोलनप्रति समर्थन जनाउँदै दमन नगर्न पश्चिम बंगाल सरकारसँग आग्रह गरेका छन् ।

तामाङको स्थायी घर दार्जिलिङमा पर्छ । तामाङले पछिल्ला दिनमा दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनलाई विषय बनाएर गीत रचना गरिरहेको बताएको इण्डियन्स एक्सप्रेसले आफ्नो अनलाइन संकरणमा समाचार लेखेको छ ।

दार्जिलिङमा हुर्किएका प्रशान्त नयाँदिल्लीमा बसाइँ सरे पनि उनका आफन्त दार्जिलिङमै बस्छन् । उनले दार्जिलिङसँग आफ्नो आत्मीय सम्बन्ध भएकाले त्यहाँको आन्दोलनको समर्थन नगरी बस्न नसक्ने बताए ।

गोर्खाल्याण्ड माग गर्दै सुरु भएको आन्दोलनमा बंगाल सरकारले गोली चलाएको र त्यहाँका नागरिकको मृत्यु भएको खबरले आफूलाई पीडा हुने गरेको तामाङले बताएका छन् ।

‘म आज जे छु, त्यो दार्जिलिङ अर्थात् पहाडका मानिसकै कारण भएको हुँ’, प्रशान्तले भनेका छन्, ‘त्यसैले म गोर्खाल्याण्ड आन्दोलनको समर्थन गर्छु ।’

गोर्खाल्याण्ड आन्दोलनका क्रममा भएका शान्तिपूर्ण प्रदर्शनमा पश्चिम बंगाल सरकारले सेना परिचालन गरेकोप्रति समेत प्रशान्तले आपत्ति जनाएका छन् ।

उनले दार्जिलिङ युद्धभूमि नभएको र सरकारले बिनाकारण सेना परिचालन गरेकोप्रति उनको आक्रोस थियो ।

प्रशान्तले बंगाल सरकारप्रति प्रश्न गर्दै भनेका छन्, ‘दार्जिलिङमा किन सेना खटाइएको छ ? के दार्जिलिङ युद्धभूमि हो ? बोर्डर हो ?’

प्रशान्तले दार्जिलिङका जनतामाथि लाठी प्रहार हुनुलाई आफ्नी आमामाथिको दमनको रुपमा लिएको उल्लेख गरेका छन् । ‘गोर्खाल्याण्डका लागि जारी आन्दोलन रोकिँदैन’, प्रशान्तले भनेका छन्, ‘तपाईंकी आमालाई लाठीचार्ज भइरहँदा के तपाइँ चुप लाग्न सक्नुहुन्छ ?’दैनिक नेपालबाट साभार 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार