मधेशी जनताले खारेज गरे सिके राउतको एजेण्डा…

काठमाडौं, १७ असार । सिके राउत स्वतन्त्र मधेश गठबन्धनका संयोजक हुन् । उनी मधेशलाई छुट्टै राज्य बनाउन पर्ने एजेण्डा बोकेर हिँडेका छन् । नेपालबाट अलग गराएर मधेशलाई स्वतन्त्र राज्य बनाउनु पर्ने एजेण्डासहित सोही अनुसारको गतिविधिमा संलग्न सिके राउत राज्य विप्लवको आरोपमा पक्राउ पर्दै र छुट्दै गरेका व्यक्ति हुन् । तर, दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत मधेशी जनताले उनको नेपालबाट मधेशलाई अलग बनाउने एजेण्डा खारेज गरेको देखिन्छ ।

दोस्रो चरणको निर्वाचनलाई उपयोग गर्दै सिके राउतले मधेशी जनता मार्फत आफ्नो विखण्डको एजेण्डालाई अनुमोदन गराउने भरपुग प्रयास गरेका थिए । तर, राउतको विखण्डनको एजेण्डालाई तराई मधेशका जनताले अस्वीकार गर्दै खारेज गरिदिएका छन् । राजपालाई समेत दोस्रो चरणको निर्वाचन सहभागी भएर मतदानबाट चुनाव बहिस्कार गर्न राउतले सल्लाह दिएका थिए । र उनले कुनै पनि चुनावी चिन्हमा नभई मतपत्रको माथि छाप लगाएर मधेश अलग बनाउने एजेण्डा अनुमोदन गर्न मधेशी जनतालाई आह्वान गरेका थिए । तर, उनको उक्त आह्वानलाई ठाडै अस्वीकार गरेका मधेशी जनताले नेपाल एक राज्य चाहेको मत जाहेर गरेका छन् ।

प्रदेश नम्बर १, ५ र ७ का तराई मधेशका ११ जिल्लामा दोस्रो चरणको निर्वाचन भएको छ । उनले उक्त जिल्लाका नागरिकलाई मधेश अलग बनाउन एजेण्डालाई सहयोग गर्न दोस्रो चरणको निर्वाचन उपयोग गर्न आह्वान गरेका थिए । दुई नम्बर प्रदेशका आठवटा जिल्ला बाहेकका तराई मधेशका सबै जिल्लामा स्थानीय तह निर्वाचन सम्पन्न भयो । तर, उनको सो आह्वानलाई त्यस क्षेत्र नागरिकले अस्वीकार गरेको मतगणनामा सहभागी दलीय प्रतिनिधिहरुले जनाएका छन् ।

दोस्रो चरणको निर्वाचनमा कति प्रतिशत मत बदर भयो भन्ने विवरण नआइसकेपनि मत बदरको प्रकृति सिके राउतको आह्वान बमोजिमको नरहेको दलीय प्रतिनिधिहरुले जानकारी दिएका छन् । अहिलेसम्म भइरहेको मतगणनामा मतपत्रको माथि वा चुनाव चिन्ह नरहेको स्थानमा छाप लगाएको नभेटिएको उनीहरुको भनाइ छ ।

राउत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई भू–भागलाई छुट्टै राष्ट्र बनाउने उद्घोषका साथ सोही अनुसारको गतिविधि गर्दै हिँडेका छन् । तर, झापा, मोरङ, सुनसरी, नवलपरासी, कपिलबस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा भएको दोस्रो चरणको निर्वाचनमा त्यस क्षेत्रका मतदाताले सिके राउतको एजेण्डालाई अस्वीकार गर्दै खारेज गरेका हुन् । दोस्रो चरणको निर्वाचन मार्फत आफ्नो एजेण्डा अनुमोदन गराउने प्रयास असफल भएपछि सिके राउत अब दुई नम्बर प्रदेश हुने तेस्रो चरणको निर्वाचन उपयोग गर्ने तयारीमा रहेका बताइएको छ ।Media NP

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent