सहकारीको संस्थागत सुधार हुनुपर्छ – अर्थमन्त्री

ललितपुर । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सङ्घीय संरचनामा सहकारीको भूमिका फराकिलो बनाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सहकारी सङ्घले आज पुल्चोकमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सहकारीका धेरै राम्रा पक्षहरु भएपनि केही पक्षको सुधार आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहकारीहरुमा अझै संस्थागत सुधारको खाँचो छ ।’ भारतसँगको बढ्दो व्यापार घाटा कम गर्न पनि सहकारीको भूमिका भएको उहाँले औँल्याउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘संविधानले सहकारीलाई अर्थतन्त्रको खम्बाको रुपमा मानेको छ । ग्रामीण क्षेत्रको विकासमा सहकारीको प्रभावकारी भूमिका रहन्छ ।’ नेकपा एमालेका नेता भरत मोहन अधिकारीले संविधान निर्माणपछि प्रमुख मुद्दाका रुपमा आर्थिक समृद्धि अगाडि आएको बताउनुभयो र भन्नुभयो, ‘आर्थिक समृद्धिका लागि सहकारीको ठूलै भूमिका रहन्छ ।’

सहकारी मन्त्रालयका सहसचिव सुरेशमान प्रधानले सहकारीको दर्ता, नियमन, अनुगमन जस्ता कामको जिम्मेवारी सङ्घीय निकायलाई दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडलाई ‘उत्कृष्ट सहकारी पुरस्कार–२०७३’ बाट पुरस्कृत गरिएको थियो । उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार ७ वटा सहकारीले पाएका छन् । रासस

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent