साउदी अरबमा अलपत्र १० जना नेपाली युवाहरुलाई फर्काउन मेनपावर सहमत

साउदी अरब / साउदी अरबमा अलपत्र परेका १० जना नेपाली युवाहरुलाई मेनपावरले सम्पूर्ण खर्च व्यहोरेर नेपाल ल्याउन लिखित सहमति गरेको छ ।वैदेशिक रोजगार विभागमा नेपाली साझा मंच साथी अभियानको सहयोगमा पीडितका परिवारले साउदी अरबमा विचल्ली परेका उनीहरुलाई सकुशल नेपाल ल्याईदिन र परिवारलाई राहत समेत उपलब्ध गराउन माग गर्दै उजुरी गरेपछि लक्की एचआर मेनपावर प्रा.लि. ले सोमबार लिखित सहमती गरेको हो ।

वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीका संचालक ऋषि शर्मालाई बोलाई कारवाही अघि बढाएपछि सोमबार भएको सहमतीमा रोजगारदाता कम्पनी र नेपाली राजदुतावाससंग समन्वय गरी पीडित १० जनालाई उध्दार गरेर यथाशिघ्र नेपाल ल्याउने उल्लेख गरिएको छ । पीडितहरुलाई नेपाल ल्याई सकेपछि क्षतिपूर्ति एवं राहतका विषयमा पुन: छलफल गरिने मौखिक सहमति पनि भएको साथी अभियानकी संयोजक शारदा भुषाल झाले बताएकी छिन् ।

पीडितहरुका अनुसार गत विहिबार राती सलमान हसन अल मार्थु कम्पनीका कपिलले मध्यरातमा कुटपिट गर्दै ज्यानमार्ने धम्की दिएर सुत्न समेत नदिई लेखेटेर केहीलाई अज्ञातस्थलमा पुराई “तेरो नेपाल यताबाट जान्छ, जा !” भनि छाडिदिएका थिए ।

त्यसपश्चात हारगुहार गर्दै शुक्रबार बिहान दम्माम सिको गार्डेनमा पुगेका उनीहरु नेपाली साझा मंच राष्ट्रिय समन्वय समितिको सम्पर्कमा आएका थिए ।
मंचले तत्काल राजदुतावासका श्रम सहचारी अम्बिका अधिकारी, स्थानीय कर्मचारी हरि घिमेर, मेनपावरका प्रतिनिधि एमएस कापरी र साथी अभियानकी संयोजक झासंग समन्वय गरेर उनीहरुलाई खान, बस्न र परिवारलाई सकुशल रहेको सूचना प्रवाह गर्न सहयोग गरेको थियो ।मंचले नेपाली मुसलमान धनुषाका अब्दु रहिमको सहयोगमा पुलिस र लेबरकोर्टमा निवेदन दिने तयारी समेत गरेको थियो तर कपिलले यसअघिनै उनीहरुलाई कम्पनी छाडेर भागेको आरोपमा ‘हुरुप’ लगादिई सकेको पाईएकाले सो निवेदन भने दर्ता हुन सकेन ।
उनीहरुलाई नेपाल फर्काउन पुलिस केस सल्टाउनु पर्ने भएकाले तत्काल फर्काउन नसक्दा केही समस्या भएको छ तर ज्यानकै खतरा भएको कतिफको अवमियाबाट दम्माममा उनीहरुलाई सुरक्षित बसोबासको व्यवस्था गर्न सक्दा सन्तोषजनक अवस्था रहेको मंचका साउदी संयोजक कृष्ण पुरी बताउछन् ।गत सोमबार साउदी अरब आईपुगेका मेनपावर कम्पनीका कापरीले पीडितहरुको उद्धारका लागि हरसम्भव प्रयास गर्ने प्रतिबध्दता व्यक्त गर्दै पीडितहरुलाई भेटेर खान बस्न र अन्य खर्चका लागि चिन्ता नगर्न भनि भनेको पीडितहरुले बताएका छन् ।

कापरीका अनुसार हालसम्म ४५ सय रियाल उनीहरुका लागि खर्च गरि सकिएको छ। दम्माममा कोठा बहाल लिएर राखिएको पीडितहरुलाई नजिकै रहेको काठमाडौ रेष्टुरेन्टमा खाना खुवाउने व्यवस्था गरिएको छ।एक वर्षअघि जुलाईमा साउदी अरब आएका उनीहरुलाई आएदेखि कपिलले दुई दिनमा एक छाक मात्रै खाना दिने र कुटपिट गरेर पेस्तोल देखाई मारेर फाल्ने धम्किदिने गरेका थिए । १० जना पीडितहरु सबैले पिटाई खाएको र भोकै बस्नु परेको थियो ।

उनीहरुका अनुसार कामदार सप्लाईको काम गर्ने त्यस कम्पनीले अर्को कम्पनीमा काम गर्न जाँदा मात्रै त्यहाँ अघाउन्जेल खाना खान पाउथे । मारेर फालिदिने धम्कि र कुटपिटका कारण त्रसित उनीहरुले डिसेम्बरदेखि तलब समेत नपाएर पीडित भएका थिए ।त्यसरी पीडित हुनेहरूमा जनकबहादुर खत्री जाजरकोट, बमबहादुर बस्नेत दैलेख,मानसिंह कामी बाँके, मानबहादुर कामी दैलेख, लेखबहादुर विश्वकर्मा दाङ, गोविन्द ताम्राकार मोरङ, जितबहादुर जोगी तेह्रथुम, रुद्र माझी मोरङ, पूर्णबहादुर तामाङ संखुवासभा र नविन विष्ट रुकुम रहेका छन् ।

नेपाली साझा मंचले पीडितहरुले उद्धारका लागि अपिल गरेको भिडियो सार्वजनिक गर्दै उनीहरुको उद्धारका लागि साउदी स्थित नेपाली राजदुतावास, राष्ट्रिय मानव अधिकार आयोग र वैदेशिक रोजगार विभागमा अनुरोध गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार