एक करोडको केक….

मङ्गलबार, ०३ साउन २०७४,

काठमाडौं- आगामी भदौ २३ गतेबाट रिलिज हुने फिल्म ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ युट्युबमा करोड बढी हेरिएको छ। राजधानीमा सोमबार फिल्म युनिटले केक काटेर खुशी साटासाट गरेको छ। राजनराज शिवाकोटीको शब्द, संगीतमा बनेको यो गीतमा मेलिना राई र राजन इशान र राजन स्वयम्ले स्वर दिएका छन्।

यो गीतको सिर्जना आफैमा रोचक छ। राजनले यो गीत दोलखामा लेखेका हुन्। ‘मैले पाँच वर्ष अघि नै यो गीत तयार पारेको थिएँ। यो गीत लेख्नैका लागि तीनपटक दोलखा गएँ। घरदेखि माथि रहेको जंगलमा बसेर गीत लेखेको थिएँ,’ राजनले भने, ‘मलाई शान्त स्थानमा गीत लेख्न मनपर्छ। यो गीत पहिले नै लेखेको थिएँ। गीतको शब्द र लय मितज्यू (राजन इशान)लाई सुनाएपछि उहाँ पनि खुशी हुनुभयो। यो गीत ‘२ रुपैंयाँ’का लागि नै जुरेको रहेछ।’

फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’बाट पार्श्व संगीत यात्रा सुरु गरेका राजन दोस्रो फिल्म ‘अझै पनि’ सम्म आउँदा उतिसारो चिनिएका थिएनन् तर तेस्रो फिल्म ‘वडा नम्बर ६’को ‘सुर्के थैली’ गीतले उनलाई रातारात चर्चित बनाइदियो। ‘सुर्के थैली’ पछिको फिल्म ‘छक्का पञ्जा’को ‘पूर्व पश्चिम रेल’ले राजनलाई पार्श्व संगीतसँगै गायनमा नयाँ उचाइ दियो। यी दुई गीतले पनि युट्युबमा करोड बढी दर्शक पाइसकेको छ।

राजनले ‘सुर्के थैली’ र ‘पूर्व पश्चिम रेल’ पनि दोलखाकै जंगलमा लेखेका हुन्। ‘गीत लेख्न मलाई समय चाहिँदैन। शान्त स्थानमा हुँदा दिमागमा फुरेका शब्दलाई गीत बनाइहाल्छु। होहल्ला र भीड भन्दा पर गएर जंगलमा चराको चीरबीरसँगै गीत लेख्नुको मज्जा नै बेग्लै हुन्छ,’ उनले भने।

राजनको छेउमा रहेका गीतका गायक तथा एरेन्जर राजन इशानले पनि दर्शकको रुचिका गीत बनाउन गाह्रो हुने बताए। ‘बजारमा कस्तो गीत दर्शकको रोजाइमा छ, त्यसको अध्ययन गर्नुपर्छ। उहाँको संगीत र स्वरमा रहेका गीत विशेषगरी लोक र आधुनिकका फ्युजन जस्ता छन्,’ राजनले भने, ‘उहाँको गीतमा दर्शकले नयाँ किसिमको स्वाद पाउँछन्। त्यसकारण पनि उहाँका गीत दर्शकको रोजाइमा पर्छन्।’

फिल्मका निर्देशक असिम शाहले आम दर्शकले गीतलाई रुचाउनु भएकाले पनि फिल्मलाई अझ राम्रो गरी दर्शकमाझ प्रस्तुत गर्नु अर्को चुनौती रहेको बताए।

नायिका स्वस्तिमा खड्का र नायक आसिफ शाहले गीतको छायांकनमा गरिएको मेहनतलाई दर्शकले स्वीकारेकोमा धन्यवाद दिए। गीतमा निश्चल बस्नेत र बुद्धि तामाङले पनि नृत्य गरेका छन्।

मुख्य समाचार