उपहार दिइएका गैंडाबारे सरकार बेखबर

काठमाडौँ — सरकारले छिमेकी मुलुक चीनलाई पहिलो पटक दुई जोडी एकसिंगे गैंडा उपहार दिने अन्तिम तयारी गरेको छ । गैंडाको मुख्य ‘हब’ चितवन निकुञ्जमा चीनलाई उपहारस्वरूप दिइने गैंडा समात्ने काम सुरु गरिएको छ ।

 

करिब १३ वर्षको अन्तरपछि सरकारले छिमेकी मुलुकलाई गैंडा उपहार दिन लागेको हो। यसअघि पनि विभिन्न मुलुकलाई करिब ३० वटा गैंडा उपहार दिइएको थियो। तर तिनको स्वास्थ्य अवस्था, सन्तान विस्तार र अन्य उपलब्धिबारे सरकारले खासै चासो दिएको देखिन्न, न त उपहार दिइएका मुलुकलाई सोधेर तिनको अवस्था र उपलब्धिबारे अभिलेख राख्नेतिर ध्यान दिएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसमेत ‘उपहार दिइएका गैंडाको अवस्थाबारे’ बेखबर छ। विभागका महानिर्देशक मनबहादुर खडकाले उपहार दिइएका गैंडाको अवस्थाबारे औपचारिक जानकारी नभएको प्रतिक्रिया दिए। ‘उपहार दिइएका गैंडाको अवस्था राम्रो छ भन्ने सुनिन्छ,’ उनले कान्तिपुरसँग भने, ‘औपचारिक रूपमा हामीले जानकारी मागेका छैनौं, उनीहरूले पनि चासो दिएका छैनन्।’

उपहार दिइएका गैंडाको अवस्थाबारे सरकारले खासै चासो दिएको छैन न त सम्बन्धित मुलुकलाई सोधेर तिनको अवस्था र उपलब्धिबारे अभिलेख राखेको छ
पछिल्लो पटक २०६२ मा जंगे र ब्युटी नामका टुहुरा गैंडा अस्ट्रियाको भियना पुर्‍याउन काठमाडौंबाट ठूलो टोली गएको थियो। तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएका बेला परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलगायतको उच्चस्तरीय टोली राज्यको ढुकुटी खर्चेर नेपाली गैंडासहित भियना पुगेको हो। चितवन निकुञ्जमा हुर्किएका ती टुहुरा गैंडाको अवस्थाबारे पनि सरकार बेखबर छ।
विभागका पूर्वमहानिर्देशक श्याम बजिमयका अनुसार तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोष (हाल प्रकृति संरक्षण कोष) को पहलमा वन्यजन्तु उपहार दिइन्थ्यो। त्यस्ता उपहार दिन प्रत्यक्ष रूपमा राजाको निर्देशन हुन्थ्यो र कोष तथा विभागका प्राविधिकले फिल्डमा चाँजोपाँजो मिलाउँथे। राजाले आफूले चाहेको जोसुकैलाई उपहारका रूपमा गैंडालगायत वन्यजन्तु दिएको जानकारहरू बताउँछन्। तर, त्यस्तो कार्यमा वन मन्त्रालय र निकुञ्ज विभागको पनि प्रत्यक्ष संलग्नता हुन्थ्यो।
पूर्वमहानिर्देशक बजिमय उपहार दिइएका वन्यजन्तुको अवस्था जान्न सरकार आफैं सक्रिय हुनुपर्ने सुझाउँछन्। ‘हामीले दिएका गैंडाको अवस्था कस्तो छ भनेर सोध्ने हो भने सम्बन्धित मुलुकले जानकारी दिन्छन्,’ उनले भने, ‘हामीले नै चासो दिनुपर्‍यो।’
प्रकृति संरक्षण कोषका गैंडा विशेषज्ञ नरेश सुवेदी कतिपय देशलाई नेपालले उपहार दिएका गैंडाको संरक्षण र सन्तान उत्पादन राम्रो भएको बताउँछन्। ‘बेलायतलगायत मुलुक गएका बेला नेपाली गैंडा भनेर उत्साहपूर्वक देखाउने गर्छन्, अवस्था राम्रो देखिन्छ,’ उनले भने, ‘सरकारले पनि आफूले दिएका गैंडाबारे फलोअप गर्नुपर्छ।’
वन्यजन्तुविद् झमकबहादुर कार्की गैंडा वा अन्य वन्यजन्तु उपहार पाएका कतिपय मुलुकले नेपालमा वन्यजन्तु अनुसन्धान र अन्य प्राविधिक सहयोगसमेत गरेकाले यसलाई उपलब्धि ठान्छन्। ‘उपहार दिँदा भएको सम्झौताअनुसार कतिपयले आर्थिक र प्राविधिक सहयोग पनि गरेका छन्,’ उनले भने, ‘कतिपयले सम्झौता कार्यान्वयन नगरेका हुन सक्छन्, सरकारले अनुगमन गर्नुपर्छ।’ चीनले समेत गैंडाबापत वन्यजन्तु संरक्षण र सूर्यविनायकमा बनिरहेको जुलोजिकल पार्कमा आर्थिक सहयोग गर्ने वचन दिएको छ।
नेपालले २०४२ सालमा भारतको दुधवा नेसनल पार्कलाई चारवटा एकसिंगे गैंडा उपहार दिएको थियो भने २०४४ वैशाख २९ मा प्रेसिडेन्ट रोनाल्ड रेगन र नेसनल जुलोजिकल पार्क अमेरिकालाई दुई–दुई गरी चारवटा गैंडा उपहार दिएको थियो। २०४६ चैत २० मा अमेरिकाकै फोर्टओबर्ट जुलोजिकल एसोसिएसनलाई दुई र सिंगापुर जुलोजिकल पार्कलाई दुईवटा गैंडा उपहार दिइएको थियो। त्यसैगरी २०४६ माघ ३ मा जर्मनीको म्युनिख जुलाई एक, २०४९ फागुन १ मा बंगलादेशको मीरपुर नेसनल जुलाई दुई, २०५० जेठ १७ मा जर्मनीको विलहेल्मा जुलाई एक, २०५५ वैशाख ५ मा बेलायतको जुलोजिकल सोसाइटीलाई दुई र २०५८ फागुन २० मा जापानको टामा जुलोजिकल पार्कलाई दुई गैंडा उपहार दिइएको थियो।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार