लेखनाथ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो जन्मस्थान अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा जग्गा किन्ने भएका छन् । पोखरा आएको अवसर पारेर उनले शनिबार लेवाडे पुगेर घर बनाउने जग्गा हेरेका हुन् ।
फोटो: पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार आफ्नो जन्मस्थान कास्कीको अन्नपूर्ण गाउँपालिका–१, लेवाडेमा घर बनाउने जग्गा खोज्दै । तस्बिर : दीपक परियार/कान्तिपुर
श्रीमती र छोरीसहित त्यहाँ पुगेका दाहालले स्थानीय हरिध्वज तुलाचनको जग्गा मनपराए । हेमजा फेदीबाट नौडाँडा जाँदा भूपी शेरचन राजमार्गबाट ३ सय मिटर परको पाखो बारीमा पाँच रोपनी जग्गा किन्ने उनको योजना छ ।
२०१९ सालमा उनी ८ वर्षको हुँदा उनको परिवार लेवाडेको जमिन बेचबिखन गरी चितवन बसाइ सरेको थियो ।
आफन्त भेटघाटका क्रममा दाहालले उक्त जग्गामा सानो घर बनाएर बस्न चाहेको बताए । उनले दुई महिनाअघि अन्नपूर्ण काठमाडौं समाजको साधारणसभामा जन्मस्थानमा झुप्रो हालेर बस्न मन लागेको बताएका थिए ।
जग्गा हेरपछि उनी भावुक हुँदै बाल्यकालको स्मरण गरे । ‘मलाई यहाँका छहरामा नुहाएको अझैं याद छ,’ उनले भने, ‘जंगलमा दाउरा टिप्न जान्थ्यौं । पानी पर्यो भने दगुर्दैं घर आउथ्यौं ।’ अहिले सहरमा बस्नुपर्ने बाध्यता भएपनि जन्मथलोलाई कहिल्यै नबिर्सिएको उनले सुनाए ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले दाहाल लेवाडे आएर बस्नु गाउँपालिका र कास्की जिल्लाकै गौरवको विषय हुने बताए । ‘उहाँ आएपछि विकासको क्रम सुरु हुने हामीले आशा गरेका छौं,’ उनले भने ।