धर्मगुरु अाचार्यले अाफैँलाई गोली हान्न लगाइ धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउन खोजेको आरोप

मोरङ — आफैँलाई गोली हान्न लगाइ धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउन खोजेको आरोपमा विशेष प्रहरी अनुसन्धान टोलीले धर्मगुरु आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलबाट भारतको दिल्ली भाग्न लागेका धर्मगुरु आचार्यलाई टोलीले सोमबार बिहान विमानस्थल क्षेत्रबाट पक्राउ गरेको हो ।

 

आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक रहेको समेत खुलुसा भएको छ। आचार्यका अंगरक्षक चितवनको भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय माधव चौधरी र गोली र पेस्तोलको व्यवस्थापन गर्ने नवलपरासीको गैंडाकोट नगरपालिका-५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई पनि टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार अपरान्ह पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।हिन्दू राज्य कायम गर्न हुँदै आएको आन्दोलन सार्थक नभएपछि हिन्दुधर्मावलम्बी र धर्म गुरुहरुलाई निर्णायक आन्दोलन गर्न उक्साउनका लागि आचार्यले आफैं स्वयंमाथि गोली प्रहार गर्न लगाएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले बताए।
‘गोली काण्ड गराउनका लागि आचार्यले लक्ष्मीराज अधिकारीलाई हतियारको व्यवस्थापन गर्न लगाएर चौधरीलाई गोली हान्ने तालिमसमेत दिएका थिए,’ उनले भने, ‘घटना भएकै दिनदेखि शंका भएपनि २६ दिनपछि चौधरीलाई पक्राउ गर्दा उक्त रहस्य खुलेको हो। ’
चौधरी र अधिकारीलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि बिहीबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेको प्रहरी उपरीक्षक बिसीले बताए। आचार्यलाई कुन मुद्दा लगाउनेबारे छलफल भइरहेको उनले सुनाए।
तीनै जना पक्राउ परे पनि गोली हान्न प्रयोग भएको पेस्तोल प्रहरीले बरामद गर्न सकेको छैन। सुनसरीको चकरघट्टी घर भई विराटनगरस्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका आचार्यमाथि चैत २५ गते बिहान १:४५ बजे गोली प्रहारबाट घाइते भएका थिए।
न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर उनी काठमाडौं गएका थिए। पुराण आयोजक समितिका अनिता ढकालले दिएको उजुरीका आधारमा मोरङ प्रहरी छानबिन सुरु गरेको थियो।
आचार्यले हातमा गोली हान्न भनेको तर गल्तीले छातिमा गोली लागेको चौधरीले बताए। गोली हानेपछि पनि ७/८ दिनसम्म चौधरी आचार्यसँगै बसेको प्रहरी उपरीक्षक बिसीले बताए।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार